×

देशमा कसैको मिलिट्री वेस वा सैनिक गतिविधि र अड्डाहरु राख्न दिँदैनौं- अध्यक्ष केपी शर्मा ओली

images

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहितलाई ध्यानमा राखेर बाह्य र अन्तर्राष्ट्रिय सम्बन्ध राखिने बताएका छन् ।  शुक्रबार पार्टीको परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको विदेश नीति तथा  अन्तराष्ट्रिय सम्बन्ध’ विषयक दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको कूटनीतिक सम्वन्धलाई अघिल्लो सरकारले भताभुंग बनेको आरोप लगाउदै नयाँ बनेको सरकारले कूटनीतिलाई ठीक ठाउँमा ल्याएर छिमेकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्नेमा उनले जोड दिए ।

‘हामीले छिमेकसँग कार्ड खेल्ने होइन, बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्ने होइन । सबैसँग सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्छ,’ उनले भने ।

उनले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल पनि प्रतिवद्ध रहेको भन्दै कतिपय देशहरुले अपनाउने परराष्ट्र नीतिका कारण विलय हुनुपरेको स्मरण गराए ।  ‘कुनै पनि देशले आफ्नो अवस्थिति, विकासको अवस्था, आफ्नो विकास र सुरक्षालाई ध्यानमा राखेर नै अगाडि बढाउँछ । यसमा हामीले ध्यान दिनुपर्ने भूराजनीतिक स्थिति पनि छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘भौगोलिक अवस्था, विकासको स्तर, हाम्रो अर्थतन्त्रको स्टे«न्थ लगायतका यी परिस्थितिलाई ध्यानमा राखेर नीति अवलम्बन गर्नुपर्छ ।’

उनले एमाले तनावरहित छिमेक सम्बन्धको पक्षमा रहेको पनि बताए । ‘राष्ट्रहित, सीमा समस्या, प्राकृतिक श्रोतहरुलाई राष्ट्रहितमा सञ्चालन गर्नसक्ने अवस्थाको पक्षमा हामी छौं’, ओलीको भनाइ छ ।  अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताए । 

‘हामी हाम्रा छिमेकीहरुका लागि असल छिमेकी हुन चाहन्छौ र उनीहरुको कुभलो गर्दैनौं । विल्कुलै कुभलो नगरी छिमेकीहरुसँग भलो चिताएर, सहयोग पुर्याएर, चासो र चिन्तालाई समेत सम्बोधन गरेर अघि जान्छौ’, ‘हामी हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं । कसैको पनि मिलिट्री वेस वा सैनिक गतिविधि र अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं,’ उनले भने, ‘कुनै पनि हिसाबले हाम्रो सार्वभौमसत्ता र स्वाधिनतामा सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानको आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्नेछौं । हाम्रो परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने आधार यिनै हुन् ।’

ओलीले विगत सरकारको समयमा छिमेक सम्बन्ध असन्तुलित, विवादास्पद र बेढंगी रुपमा चलेको बताए । सरकारले देशभित्र तनाव बढाउने र बाह्य शक्तिसँग साँठगाँठ एवं दलाली गरेर राष्ट्रिय हित कमजोर बनाउने काम गरेको उनको आरोप छ ।

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने उनले बताए । ओलीले भने, ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रमा कुनै सम्झौता गर्दैनौं । पारपरिस्क लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।’

शुक्रबार​ ६ माघ २०७९ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया