×

माओवादी रणनीति- प्राथमिकतामा कम्युनिष्ट घटकसँग एकता, पार्टीको नाम परिर्वतनका लागि बहस 

images

काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले २०७८ पुषमा आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न गर्यो । उक्त महाधिवेशनबाट उसले कम्युनिष्ट घटकसँगको एकताका लागि ढोका खुल्लै छोड्ने निर्णय गरेको छ । 

त्यसयता माओवादी केन्द्रले कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गरेको छैन । बरू उसले आफ्नो नेतृत्वमा केही महिनाअघि समाजवादी मोर्चा गठन गरेको छ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छन् । 

मोर्चामा आवद्ध दलहरूबीच एकताको प्रसंग चले पनि बहस भने हालसम्म भएको छैन । तर, माओवादी केत्द्र र एकीकृत समाजवादीबीच एकताको बहस बेलाबेला सतहमा आउने गर्छ । यद्यपि एकता प्रक्रिया भने हालसम्म अगाडि बढेको देखिँदैन । 

त्यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पनि एकताको प्रसंग दोहोरिरहन्छ । तथापि माओवादी केन्द्र र नेकपाबीच ध्रुवीकरणको प्रयास भने नभएको होइन । उक्त प्रयास हालसम्म अभ्यासमा समेत परिणत हुन नसकेको माओवादी केन्द्रका सचिव मातृका यादव बताउँछन् । यादवका अनुसार माओवादी केन्द्र र नेकपाबीच एकताको प्रयास भए पनि प्रक्रिया भने अघि बढाइएको छैन ।

त्यसैगरी मधेसवादी दल जसपासँग भने हालसम्म एकताको प्रसंग नै उठेको छैन । समाजवादी मोर्चामा आवद्ध भएयता यदाकदा माओवादी केन्द्रसँग पार्टी एकताको होहल्ला चले पनि छलफल नै नभएको जसपा प्रचारप्रसार विभागका प्रमुख पूर्णबहादुर बस्नेत बताउँछन् । 

‘पार्टी एकताको विषय आफैमा गम्भीर भएकोले यसबारे माथिल्लो तहबाटै निर्णय हुन्छ । तत्काललाई हामी पार्टी ध्रुवीकरणको अवस्थामा नपुगे पनि निकट भविस्यमा थालनी गर्छौँ । हामीले यसअघि नै कार्यकारी समितिको बैठकबाट पार्टी एकताबारे निर्णय गरको छौँ । हाम्रो पार्टीसँग विचार मिल्ने दलहरूलाई एकता आह्वान पनि गरिसकेका छौँ,’ भन्छन्– प्रमुख बस्नेत ।

विप्लव नेतृत्वको नेकपाले पनि यसअघि उदयपुरमा सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट विचार मिल्ने वा कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । निर्णय पश्चात् नेकपाले पनि हालसम्म कुनै दलसँग एकता गरेको छैन । बरु नेकपा छाडेर धमेन्द्र बाँस्तोलाले नयाँ पार्टी गठन गरेका थिए । 

बाँस्तोलाले आफ्नो नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन गरे । तर, पार्टी गठनको एक वर्ष नपुग्दै उनले नेकपा (क्रान्तिकारी माओवादी) सँग एकता गरेका छन् । त्यसको नेतृत्व हाल मोहन वैद्य ‘किरण’ले गरिरहेका छन् । 

नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वतन्त्रबाट बालेन्द्र साह (बालेन) हर्क साम्पाङ राई लगायतका केही युवाहरूको उदय भएको छ । पुराना दलहरूको अकर्मण्यता र असक्षमताले आजित जनताले नयाँ बाटो रोजिरहेका छन् । 

यस्तो अवस्थामा पुराना तथा मूलधारका दलहरूको भविस्य संकटमा पर्ने देखिन्छ । यसर्थ पुराना पार्टी एकीकरण हुनुको विकल्प छैन । यहीँ बुझेर माओवादी केन्द्रले १० वर्षे सशस्त्र संघर्षबाट शान्ति प्रक्रियामा आएपछि माओवादी घटक दलहरूलाई एकताको सूत्रमा बाँध्ने कोसिसमा छ । 

यसका लागि माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने बहस चलाएको छ । दलका शीर्ष नेताहरू पनि नाम बदल्ने पक्षमा देखिन्छन् । तर, केही प्राविधिक कठिनाइका कारण तुरुन्तै परिवर्तन गर्न असम्भव भएको पार्टी महासचिव देवप्रसाद गुरुङले बताए । 

‘सिंगो कम्युनिष्ट आन्दोलन जोगाउन कम्युनिष्टहरू ध्रुवीकरण हुनुको विकल्प छैन । विगतका कमी–कमजोरीलाई सच्याउँदै छिन्नभिन्न भएका कम्युनिष्टहरू एकै ठाउँमा उभिनुपर्छ । एकता नै बल हो । एकताले हिजोको सिंगो आन्दोलनको प्रभाव, विचारको प्रवाहमा सहज हुन्छ,’ भन्छन्– महासचिव गुरुङ ।’

गत भदौ २५ मा बसेको माओवादी केन्द्रको पार्टी केन्द्रीय पदाधिकारीहरूको बैठकले अन्य कम्युनिष्ट घटकसँग पार्टी एकताको विषयमा छलफल गरेको थियो । पार्टीमा वार्ता, संवाद र छलफल भइरहेकोले एकतालाई सफल तुल्याउनका नेकपा पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गर्ने निर्णय गरेको भन्दै प्रदेश समितिलाई परिपत्र गरेको छ । 

नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषक सुन्दरम(िा दीक्षितका अनुसार माओवादी केन्द्र नाम परिवर्तनले मात्रै परिवर्तन नहुने तर्क गर्छन् । यसका उसले आफ्नो आचरण, व्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी छ । 

‘सत्तामुखी मात्रै नभएर जनजीवीकासँग पनि माओवादीले प्रत्येक्ष सरोकार राख्नुपर्छ । यसका साथै राष्ट्र र राष्ट्रियताको पक्षमा कार्य गर्नु जरुरी छ । हिजो जनतासँगै काम गरेको यो पार्टी पुनः जनताकै लयमा फर्किए माओवादीले फेरि पुरानै हिस्सा ओगट्न सक्छ,’ भन्छन्– विश्लेषक दीक्षित । 

मङ्गलबार २ असोज २०८० ०६:२४ PM मा प्रकाशित

प्रतिक्रिया