×

नेविसङ्घ ५५औँ स्थापना दिवस : तदर्थ कार्यसमितिकै भर

images

काठमाडौँ :  नेपाली कांग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को ५५औँ स्थापना दिवस हिजो विभिन्न कार्यक्रम गरी देशभर मनाइयो  । एक दलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्नका लागि नेपाली कांग्रेसले विद्यार्थी वर्गलाई सङ्गठित रुपमा अगाडि बढाउनका लागि नेविसङ्घको स्थापना विसं २०२७ वैशाख ६ गते जेलभित्र भएको थियो । पञ्चायती शासनमा पिल्सिएका नेपाली र त्यसमा पनि जागरूक विद्यार्थीले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी सङ्घको चित्र कोर्ने प्रयास भए पनि आधिकारिक रुपमा भने विसं २०२७ मा स्थापना भएको थियो ।

नेविसङ्घले देशमा भएका विभिन्न राजनीतिक एवम् शैक्षिक परिवर्तनको नेतृत्व लिदैँ २०४६ र २०६२ र ०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएको थियो । नेविसङ्घको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हो ।

नेविसङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनमध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा कांग्रेसले आफ्नो बहुदलीय ‘एजेन्डा’लाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक एजेन्डामा टेकेर विद्रोह गर्न नेविसङ्घ स्थापना भएको थियो ।

नेविसङ्घको संस्थापक अध्यक्ष विपिन कोइराला हुनुहुन्छ । त्यसपछि शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण, नैनसिंह महर, राजीव ढुङ्गाना र दुजाङ शेर्पा अध्यक्ष बन्नुभएको छ । नेविसङ्घको ५५ वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरू अध्यक्षले समयमा अधिवेशन गर्न नसकेको इतिहास छ ।
      
यस्तै, विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुभएको छ ।

विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट जितेर अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सक्नुभएन । राजीव ढुङ्गाना भने तदर्थ समितिको अध्यक्ष भए पनि निर्वाचन गर्न सक्नुभएन । ५५ वर्ष इतिहास बोकेको नेविसङ्घ पछिल्लो समय विगत पाँच वर्षदेखि तदर्थ कार्यसमितिको भरमा चलिरहेको छ । ११औँ महाधिवेशनबाट नेतृत्वमा पुगेका नैनसिंह महरलाई हटाएर विसं २०७६ माघ १६ गते राजीव ढुङ्गानालाई तदर्थ समितिको अध्यक्ष बनाएसँगै हालसम्म पनि नेविसङ्घ तदर्थ कार्यसमितिको भरमै चलिरहेको छ । राजीव ढुङ्गानापछि विसं २०७८ चैत ९ गते दुजाङ शेर्पा नेविसङ्घ तदर्थ कार्यसमितिको अध्यक्ष बन्नुभएको थियो तर उहाँले पनि दुई वर्ष बितिसक्दा पनि नेविसङ्घको महाधिवेशन गर्न सक्नुभएको छैन ।
      
नेविसङ्घले आफ्नो ५५औँ स्थापना दिवसका अवसरमा आज  देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेविसङ्घ पशुपति बहुमुखी क्याम्पस इकाइ समितिले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । यस्तै, नेविसङ्घ अस्कल क्याम्पस इकाइ समितिले स्थापना दिवसका अवसरमा भित्तेपात्रो विमोचन गरेको छ । 
      
यस्तै, नेविसङ्घले आज  स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्नेलगायते माग राखी देशभरका सबै स्थानीय निकायमा ज्ञापनपत्र बुझाएको बताउनुहुन्छ ।

    नेविसङ्घका पूर्वअध्यक्ष रञ्जित कर्ण पछिल्लो समय विद्यार्थी आन्दोलनप्रति नै प्रश्नचिह्न खडा भएको बताउनुुहुन्छ । “विद्यार्थी सङ्गठनको गरिमा दिनप्रतिदिन घट्दै गएको छ, किन यस्तो अवस्था आयो यसमा नेविसङ्घ गम्भीर ढङ्गले अगाडि बढ्न जरुरी छ, वर्तमान समस्याको समाधान गर्ने नेविसङ्घले हो,” उहाँ भन्नुहुन्छ ।
      पूर्वअध्यक्ष कर्ण लामो समयदेखि नेविसङ्घ तदर्थ कार्यसमितिको भरमा चल्दा नेविसङ्घ कमजोर हुँदै गएको बताउनुहुन्छ । निर्वाचनबाट आएको नेतृत्वलाई काम गर्न हुटहुटी हुने भएकाले अविलम्ब चाँडो नेविसङ्घको निर्वाचन हुनुपर्ने उहाँको भनाइ छ ।

नेविसङ्घको इतिहास आन्दोलन र क्रान्तिको पृष्ठभूमिमा रही सहिदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवम् सचेत विद्यार्थीको नवीन मार्गका रूपमा जेलभित्र कलम र मशाल अङ्कित झन्डा निर्माण गरी स्वयम्भूको सत्तलमा स्थापना भएको इतिहास छ ।

नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य लिलाबल्लभ दाहाल ‘काका’ नेविसङ्घले शैक्षिक एजेन्डाभन्दा राजनीतिक एजेन्डा बढी उठाउन थालेको बताउनुहुन्छ । “विश्वविद्यालयभित्र अहिले पनि अस्तव्यस्त छ, विश्वविद्यालभित्र देखिएको अस्तव्यस्त हटाउन नेविसङ्घ जुन हिसाबले अगाडि बढ्नुपर्ने थियो, बढ्न सकेको देखिँदैन,” उहाँ भन्नुहुन्छ ।

नेविसङ्घ निरङ्कुश, अधिनायकवादी र सामन्तीहरुको विरुद्धमा अनवरत सङ्घर्ष रही मानव अधिकार, लोकतन्त्र, सामाजिक सद्भाव, स्वतन्त्र न्याय, विधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्रलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, आर्थिक, शैक्षिक एवम् समुन्नत राष्ट्र निर्माणको अग्रगामी भूमिका निर्वाह गर्ने प्रतिवद्धताअनुसार जन्मिएको संस्था हो ।

हरेक आन्दोलनको अग्र मोर्चामा रहेर लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरङ्कुश, तानाशाही व्यवस्थाको विरुद्ध नेविसङ्घका विद्यार्थी योद्धाले ज्यानको बलिदान दिएको इतिहास छ ।

शुक्रबार​ ७ बैशाख २०८१ ०६:४८ AM मा प्रकाशित

प्रतिक्रिया