×

भारतमा लोकसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान आज

images

काठमाडौं । भारतमा लोकसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान आज शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचनअन्तर्गत पहिलो चरणमा १०२ सिटका लागि मतदान हुन लागेको हो। दशौँ लाख मानिसहरूले चुनावमा मत खसाल्ने ठानिएको छ। जुन १ तारिखसम्म चल्ने मतदानका लागि झन्डै १ अर्ब मानिसहरू भोट खसाल्न योग्य छन् र यो निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्। मोदीलाई चुनौती दिन कैयौँ विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्। चुनावको परिणाम जुन ४ मा घोषणा गरिनेछ।

भारतको संसद् दुई सदनात्मक छ। तल्लो सदनलाई लोकसभा र माथिल्लो सदनलाई राज्यसभा भन्ने गरिएको छ। लोकसभाका सदस्यहरू चुन्नका लागि शुक्रबार मतदान हुन लागेको हो। भारतमा बसोबास गरिरहेका १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिहरू मत दिनका लागि योग्य छन्। चुनाव जित्नका लागि गठबन्धनलाई ५ सय ४३ सदस्य रहेको सदनमा २७२ सिट आवश्यक पर्छ। अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टीले ३०३ सिट ल्याएको थियो। अहिले उसले लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्य लिएको छ। कंग्रेससहित दूई दर्जनभन्दा बढी दल मिलेर इन्डिया गठबन्धन निर्माण गरेका छन् र उनीहरूले मोदीलाई चुनौती दिइरहेका छन्। सन् २०१४ मा बीजेपीको उदय हुनुअघि ६० वर्षसम्म भारतको राजनीतिमा कंग्रेसको दबदबा थियो।

शुक्रबार​ ७ बैशाख २०८१ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया