×

आवश्यक सहयोग पनि नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हाम्रो संविधानको परिकल्पना हो- विश्वप्रकाश शर्मा

images

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा उभिएको बताए।

उनले भने, ‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ। त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ।’ उनले शीतल निवासतिरको लक्ष्य भन्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर नझस्किन आग्रह गरे।  महामन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनको प्रसंगमा एमाले झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

 शर्माले भने- म मेरै जिल्लाका श्रद्धेय नेताले माछा र ढोक्साको कथा सुनाएर कांग्रेसलाई ढोक्सा नथाप्न सुझाव दिनुभएको स्मरण गर्छु । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन । बरु तपाईँले माछा पर्ने पिँजडा कसिलो पार्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा आफ्नै अर्का अध्यक्षको उच्चस्तरीय संयन्त्रको प्रस्ताव अस्वीकार गर्ने तपाई आज त्यही संयन्त्रमार्फत प्रधानमन्त्रीलाई पिँजडामा राख्दै हुनुहुन्छ ।

 साथै उनले कांग्रेसले कुनै पनि ढोक्सा नथापेको बताएका हुन्। ‘सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेको छैन। राष्ट्रपतिको निर्वाचनको प्रसंगमा कोही पनि झस्किनुपर्ने आवश्यकता छैन,’ शर्माले भने। राष्ट्रपतिको निर्वाचनमा २०७४ सालबाट शिक्षा लिनुपर्ने उनले बताए। आवश्यक सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हुन नहुने शर्माले बताए।

‘२०७४ सालमा कम्युनिस्ट पार्टीमा सभामुख र राष्ट्रपति हुँदा तत्कालीन प्रधानमन्त्रीले सभामुखले आवश्यक सहयोग नगरेको बताउनुभयो। राष्ट्रपतिले अनावश्यक सहयोग गरेको चर्चा भयो। संविधानले अनावश्यक सहयोग गर्ने राष्ट्रपति र आवश्यक सहयोग नगर्ने सभामुखको परिकल्पना गरेको होइन,’ उनले भने। 
 

बिहीबार ५ माघ २०७९ १२:३२ PM मा प्रकाशित

प्रतिक्रिया