×

गठबन्धनलाई जिताउन देउवा, प्रचण्ड र माधवको संयुक्त अपिल

images

काठमाडौं । सत्तारुढ गठबन्धनले संयुक्त अपिलमार्फत् भोट मागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त हस्ताक्षर गरेर भोट मागेका हुन् । गठबन्धनमा रहेका लोसपा र राष्ट्रिय जनमोर्चाले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छैनन् ।

गठबन्धनले नेपालको संविधानले परिकल्पना गरे अनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न प्रतिवद्ध रहेको जनाएको छ ।  गठबन्धनको यो नै साझा र प्रष्ट वैचारिक धरातल र सहकार्यको आधार भएको सत्ता गठबन्धनले जारी गरेको संयुक्त अपिलमा उल्लेख छ ।

अपिलमा पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तात्कालीन सरकार प्रमुखको अनेकौँ स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको उल्लेख गरिएको छ ।

अपिलमा भनिएको छ, ‘गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको कुरा यहाँ महत्वकासाथ स्मरण गर्नु आवश्यकता छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गदै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ ।’

तीन शीर्ष नेताले लोकतन्त्र, संविधान र विधिको शासनमार्फत् सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकता भएको दाबीसहित गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आह्वान गरेका छन् ।

गरेका छन् ।

 

मङ्गलबार १ कात्तिक २०७९ ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया