×

ग्रीसको सहायता टोलीका पाँच सदस्यको लिबियामा मृत्यु

images


डेर्नामा आएको विनाशकारी बाढीपछि लिबिया पठाइएको ग्रीक मानवीय सहायता टोलीका पाँच सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको ग्रीसको सेनाले सोमबार जनाएको छ ।

“सहायता टोलीमा रहेका ग्रीक सेनाका तीन अधिकारी र ग्रीसको विदेश मन्त्रालयका दुई अनुवादकसहित पाँच जनाको शव सोमबार एथेन्स फर्काइनेछ,” ग्रीसका चिफ अफ स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लिबियाली अधिकारीहरूले आइतबार बेन्गाजीबाट पूर्वतर्फ ३०० किलोमिटर (१८५ माइल) टाढा डेर्नातर्फ जाँदै गरेको ग्रीक टोली दुर्घटनामा परी चार जनाको मृत्यु भएको बताएका थिए ।

लिबियाका स्वास्थ्यमन्त्री ओथमान अब्देलजालिलले ग्रीक टोलीका १९ जना सदस्य बोकेको गाडी लिबियाली परिवार बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको बताउनुभएको छ । उहाँका अनुसार कारमा सवार तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका ग्रीक गाडीमा सवार अन्य १४ सदस्यमध्ये एक जनाबाहेक सबैलाई उपचारका लागि ग्रीस फर्काइएको छ । लिबियामा घाइते भएका एक व्यक्तिलाई ग्रीस फर्कन नदिएपछि अस्पताल भर्ना गरिएको सेनाले जनाएको छ ।

ग्रीसले आइतबार लिबियामा डेनियल आँधीपछि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता पठाएको थियो । उक्त सहायतामा मेडिकल र नर्सिङ स्टाफका साथै मेडिकल सामग्री र खाद्यान्न पनि समावेश थियो ।

सोमबार १ असोज २०८० ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया