×

दरबार, मदन–आश्रित र गौर हत्याकाण्डबारे नयाँ शिराबाट छानबिन हुनुपर्छः प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंश नै सकिने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री  प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका हुन ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका हुन् ।

आम जनता पार्टीका सांसदले रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरु कानुनको दायरामा आउँछन् कि आउँदैनन् भनी प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले गौर मात्र नभई दरबार हत्याकाण्ड, मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्छ । चाहे त्यो गौरको केस होस् चाहे त्यो भयानक दरबार हत्या काण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ’ प्रचण्डले यस्ता घटना बिर्साउन खोजिएको भन्दै अगाडि भने, ‘मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ ।’ यस्ता घटनाको पुनः छानबिनका लागि राजनीतिक स्तरमा सहमति हुनुपर्ने उनको भनाइ छ ।

बिहीबार ४ जेठ २०८० ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया