×

मछिन्द्र च्याम्पियन बन्दा रेलिगेसन व्याटल रोमाञ्चक

images

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगले ११औं चरणमै विजेता पाएको छ । दुई खेल अगावै मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गर्नु यो चरणको मुख्य विशेषता रह्यो ।

तर, रेलिगेसन व्याटल भने अझ रोमाञ्चक बनेको छ । ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दीमाथि प्रभावशाली जित हात पारेपछि विभागीय टोली एपीएफले रेलिगेसनको खतरा टारेको छ । अब जावलाखेल, ब्रिगेड ब्वाइज, फ्रेण्ड्स र च्यासलमध्ये दुई टोली यस सिजन घटुवा हुने निश्चित छ ।


बुधबार ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ क्लबलाई पराजित गरी मछिन्द्रले उपाधि रक्षा गर्‍यो । मछिन्द्रले २०७६ सालमा पहिलोपल्ट लिग जितेको थियो । कोरोना महामारीका कारण अघिल्लो वर्ष ९२०७७०मा लिग आयोजना भएन । ९ जित र २ बराबरीबाट २९ अंक जोडेको मछिन्द्र लिगमा एकमात्र अपराजित टोली पनि हो । दुई चरणको खेल बाँकी रहँदा उसले दोस्रो स्थानको मनाङसँग ९ अंकको अग्रता लिएको छ । मनाङले ११औं चरणमा एपीएफसँग खेल्नुअघि नै मछिन्द्रको उपाधि निश्चित भइसकेको थियो ।

मछिन्द्रका लागि यो सिजन लिग उपाधि रक्षासँगै अर्को उपलब्धि भनेको एएफसी कपका लागि छनोटसमेत हो । मखनको यो क्लब सातौं चरणसम्म शीर्षस्थानमा रहेर सन् २०२२ का लागि एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको थियो । गएको सिजन लिग जिते पनि एएफसी क्लब लाइसेन्स नहुँदा त्यतिबेला दोस्रो स्थानमा रहेको आर्मीलाई एएफसी कपको अवसर दिइएको थियो ।

यसपल्ट अखिल नेपाल फुटबल संघ ९एन्फा०ले लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीलाई एएफसी कपमा पठाउने निर्णय गरेको थियो । एन्फाले हरेक वर्ष असोजदेखि फागुनसम्म ए डिभिजन लिग आयोजना गर्ने गर्छ । एएफसी क्यालेण्डर र घरेलु क्यालेण्डर समान नहुँदा अर्को सिजन पनि एएफसी कपका लागि आधा सिजनको शीर्ष टोलीकै विकल्प रोज्नुपर्ने अवस्था आउनसक्ने लिग निर्देशक सन्जीव मिश्र बताउँछन् ।

२०७० को लिगमा दोस्रो भएको मछिन्द्र एकैपल्ट पाँच वर्षपछि आयोजित लिगमा पुच्छारबाट दोस्रो भएको थियो । त्यतिबेला रेलिगेसनको व्यवस्था नहुँदा जोगिएको यो क्लबले नयाँ व्यवस्थापन र थप लगानीपछि अर्को वर्ष लिग उपाधि जित्यो । लगातार दुई उपाधि जितेर उसले घरेलु फुटबलमा नयाँ शक्तिका रुपमा उदाएको छ ।

लगातार च्याम्पियन बन्दा प्रफुल्ल देखिएका प्रशिक्षक प्रवेश कटुवालले उपलब्धिको श्रेय खेलाडीलाई दिए । उनको बुझाइमा यो सफलता सबैको मिश्रित योगदानको प्रतिफल हो । ‘यसपटक टिम बलियो थियो । गत सिजन सीमित खेलाडी थिए । यसपल्ट अग्रपंक्तिलाई अझै शशक्त बनायौं । त्यसैले दुई खेलअगावै लिग जित्यौं,’ कटुवालले भनेका छन् ।

मछिन्द्रको अबको लक्ष्य एएफसी कपतिर हुनेछ । आगामी अप्रिल ५ ९चैत २२०मा एएफसी कपको प्रारम्भिक चरण अन्तर्गत मछिन्द्रले श्रीलंकाली क्लब ब्लू स्टारसँग दशरथ रंगशालमा खेल्नेछ । मछिन्द्रले यो खेलसहित तीन खेल जिते मात्र एएफसी कपको मुख्य समूह चरणमा पुग्नेछ ।

प्रशिक्षक कटुवालका अनुसार यसपल्ट क्लबले समूह चरणसम्म पुग्ने लक्ष्यसहित टिममा केही खेलाडी परिवर्तन गर्ने गृहकार्य सुरु भएको छ । ‘एएफसी कपको समूह चरणमा पुग्छौं भन्ने विश्वास छ । तर, प्रदर्शन सुधार गर्नुपर्छ । त्यसका लागि टिममा केही परिवर्तन हुन्छ ।’

मनाङमाथि एपीएफको विजय

११औं चरणको अर्को विशेषता लिग महारथी मनाङमाथि एपीएफको विजय पनि हो । लिग जित्न नसक्ने निश्चित भएपछि एपीएफविरुद्ध उत्रिएको मनाङले अग्रता लिएर पनि अंक जोगाउन सकेन । एपीएफले सानदार पुनरागमन गर्दै मनाङमाथि ३–१ को जित रच्यो ।

सिजनको पहिलो नकआउट प्रतियोगिता आहा रारा गोल्डकपमा यी दुईले फाइनल खेलेका थिए । मनाङलाई पेनाल्टी शुटआउटमा हराएर एपीएफ पहिलोपल्ट पोखरामा च्याम्पियन बनेको थियो ।

मनाङका नाइजेरियाली प्रशिक्षक फुजा तोपेले उपाधि होडबाट बाहिरिएपछि खेलाडीले राम्रो खेल्न नसकेको तोपेको स्वीकारोक्ति रह्यो । लिगमा मनाङको यो तेस्रो हार हो । यसअघि मछिन्द्र र सातदोवाटोसँग पराजित भएको थियो ।

मनाङमाथिको जित एपीएफका लागि रेलिगेसन क्षेत्रबाट बाहिरिन निर्णायक बन्यो । लिगका सुरुवाती तीन खेल हारेपछि रेलिगेसनको खतरामा पुगेको एपीएफ त्यसयता अपराजित छ । तीन जित र ५ बराबरीले एपीएफको १४ अंक भएको छ । आठौं स्थानमा रहेको एपीएफ बाँकी २ खेल हारे पनि ११औं स्थानभन्दा तल झर्दैन ।

मछिन्द्रबाहेक अंकतालिकामा उपल्लो स्थानमा रहेका अन्य क्लबहरूको प्रदर्शन राम्रो हुन सकेन । तेस्रो स्थानको आर्मी टिम हिमालयन शेर्पासँग निराशाजनक बराबरीमा रोकियो । चौथो स्थानको थ्रीस्टारले पनि नेपाल पुलिससँग अंक बाँड्यो ।

संकटालाई हराएर एनआरटी पाँचौं स्थनमा उक्लियो । एनआरटीको १७ र यो पराजयले एक स्थान तल झरेको संकटाको १५ अंक छ । समान अंक भए पनि सातदोवाटो सातौं स्थानमा छ ।

 

उपाधि विजेताको टुंगो लागेपछि अब धेरैको ध्यान रेलिगेसन क्षेत्रतर्फ छ । यो लिगमा २ टोली बी डिभिजनमा घटुवा हुनेछन् । अंकतालिकाको पुच्छारतिर रहेका टोलीहरूका लागि बाँकी दुई चरणको खेल ‘गर या मर’को स्थितिमा हुनेछ ।

११औं चरणमा ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० र च्यासल युथ क्लब तथा फ्रेन्डस् र जावलाखेल क्लबबीचको खेल बराबरी भएपछि ‘रेलिगेसन ब्याटल’ अझै रोमाञ्चक बनेको छ ।

दुवै खेल एउटै समयमा भएको थियो । बीबीसी र च्यासलबीचको खेलमा गोल भएन भने अर्को खेलमा जावालखेलले तीन गोलको अग्रता कायम राख्न सकेन ।

अन्तिम चार स्थानमा रहेका जावलाखेल, बीबीसी, फ्रेण्ड्स र च्यासलमध्ये दुई टोली नै रेलिगेसनमा पर्ने निश्चित छ । फ्रेण्ड्स र बीबीसीको समान ७ अंक छ । हेड टू हेडमा फ्रेण्ड्स अघि छ । च्यासल ६ अंकसहित पुच्छारमा छ । एघारौं स्थानमा रहेको जावालाखेलको १० अंक छ । स्मरणीय के छ भने यी चारै क्लब ललितपुरका हुन् ।

१२औं चरणमा फ्रेण्ड्स र च्यासलबीच शनिवार खेल हुँदैछ । दुवै टोलीका लागि रेलिगेसनबाट जोगिने त्यो नै अन्तिम अवसर हुनेछ । 

शुक्रबार​ ६ फागुन २०७८ ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया