×

प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा राष्ट्रपति को बन्ने भन्ने महत्त्वपूर्ण - महामन्त्री विश्वप्रकाश शर्मा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको रक्षा र पालना गर्न व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । कांग्रेस झापा १– काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले अहिलेको राष्ट्रपतिले पटक पटक संविधान कुल्चने र उलंघन गर्ने काम गरेको आरोप लगाएका छन् ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा महत्त्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए । उनले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै उनले गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु नहुने बताए । उनले राष्ट्रपति भवनमा व्यक्ति नभई प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसाबले पनि फरक प्रस्तुति हुन सक्नुपर्ने बताए । उनले भने, ‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्त्वपूर्ण छ, त्यो भन्दा धेरै महत्त्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ ? दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्थै छैन ।

हामीले एक्लै विजयी हासिल गरेका होइन, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ । यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु हुँदैन । भत्किन दिनु हुँदैन । मेरो मस्तिष्कमा राष्ट्रपति को बन्नुपर्छ भन्ने बारेमा त्यस्तो अनुहार छैन । तर राष्ट्रपति भवनमा आउँदै गर्दा के बिर्सिनु हुँदैन भने नकारात्मक कुराहरू बिर्सिनु हुँदैन । राष्ट्रपति भवनमा हामीले व्यक्ति होइन, प्रवृत्ति लिएर जाने हो । त्यो प्रवृत्ति राजतन्त्र कालीन भन्दा भिन्न हुनुपर्छ ।

तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसाबले पनि फरक प्रस्तुति हुन सकोस् । राष्ट्रपतिमा काँग्रेसले पनि सहजतापूर्वक लिनसक्ने, गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने नेतृत्व होस् । राष्ट्रपति पदको चयन गर्दै गर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्नुपर्छ । अहिलेको राष्ट्रपतिले संविधानलाई भोइलेट गर्नुभयो । उल्लङ्घन गर्नुभयो ।’

महामन्त्री शर्माले राष्ट्रपति पदको चयन गर्दै गर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्न आवश्यक रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि संविधानलाई उल्लङ्घन गर्दा सर्वोच्च अदालतबाट आदेश आउनुपरेको भन्दै अब सो स्थिति सिर्जना हुन नदिने पनि बताए ।

 

शनिबार २ पुस २०७९ ०९:०९ PM मा प्रकाशित

प्रतिक्रिया