×

मत हाल्न वृद्धाश्रमका आमाबुवा उत्सुक, सबैको हातमा छैन कागजात

images

काठमाडौं । निर्वाचनको दिन नजिकिएसँगै वृद्धाश्रमका ज्येष्ठ नागरिकमा उत्सुकता छाएको छ । आफन्त कोही नभएका, परिवारबाट अपहेलित भएका, आफ्नो नाममा सम्पत्ति नभएका केही ज्येष्ठ नागरिकले काठमाडौँस्थित पशुपति वृद्धाश्रमलाई आश्रयस्थल बनाएका छन् ।

उक्त आश्रममा ६० वर्षदेखि ९० वर्ष नाघेका असहाय तथा निस्सहाय ज्येष्ठ नागरिकले केही हदसम्म भए पनि जीवन सहजमय ढङ्गले बिताइरहका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । यस वर्षदेखि जेलमा रहेका कैदी र वृद्धा आश्रममा रहेका वृद्धावृद्धले पनि आफू बसेकै स्थानमा मतदान गर्ने अस्थायी मतदाताको व्यवस्था गरिएको छ ।

सरकारले निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीलगायत आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउनेका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अस्थायी मतदाताको व्यवस्था गरेको छ ।

समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अस्थायी मतदाताका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली सङ्कलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुनेक्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।

अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने उहाँको भनाइ छ । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र नखटिएका कर्मचारी तथा सुरक्षाकर्मी गरी करिब चार लाख अस्थायी मतदाता रहनेछन् ।

पशुपति वृद्धाश्रममा रहेका ९४ ज्येष्ठ नागरिकमध्ये ५८ महिला र ३६ पुरुष छन् । कूल ९४ मध्ये आठ जनाले मात्र मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । वृद्धाश्रममा रहेका आठ जनाको मात्र मतदान गर्नका लागि आवश्यक कागजात रहेको वृद्धाश्रम कार्यालयका नासु हृदयराज उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “५१ जनाको नागरिकता, मतदाता परिचयपत्र उहाँहरूकै आफन्तको घरमै रहेको छ । केही वृद्धावृद्ध बोल्न नसक्ने भएकाले मनदानका लागि आवश्यक कागजात कहाँ छन् त्यसबारे कुनै जानकारी लिन सकिएको छैन ।” आश्रममा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगबाट लिखितरूपमा जानकारी आए आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।

नागरिकता भएका आठजना वृद्धावृद्धमध्ये पाँच जनाको नजिकै तिलगङ्गामा मतदान केन्द्रमा नाम रहेको र एक वृद्धा भोट हाल्नकै लागि घर जानुभएको उहाँले स्पष्ट पार्नुभयो । आश्रममा रहेका कैयौँ वृद्धावृद्धको विगतको ठेगाना पत्ता लगाउन नसकिएका कारणले पनि कागजात नभेटिएको उपाध्यायको भनाइ छ ।

आश्रममा आश्रय लिइरहेका आमाबुवामध्ये ४३ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको, ५१ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको र ११ जनाले आजसम्म नागरिकता नपाएको उपाध्यायले जानकारी दिनुभयो । उहाँकाअनुसार नागरिकता प्राप्त गरेका आमाबुवाको फोटोसहितको नामावली पनि छैन ।

मतदान गर्नेको सङ्ख्या कम भएकै कारण आश्रममा मतदान केन्द्र नराखिएको हुनसक्ने वृद्धाश्रम कार्यालय प्रमुख ओमप्रसाद पाण्डेले बताउनुभयो । “निर्वाचन आयोगले कार्यालयको सिफारिसका आधारमा आश्रममा आश्रित वृद्धावृद्धको नाम अस्थायीरुपमा राखेर समानुपातिक प्रणालीमा मताधिकार दिएको भए हुनेथियो”, उहाँले भन्नुभयो । वृद्धाश्रममा कार्यरत १९ कर्मचारीको कार्यरत रहेको उहाँहरू सबैसँग मतदान परिचयपत्र छ ।

आश्रममा लामो समयदेखि आश्रय लिँदै आउनुभएका ६० वर्षीय सोमबहादुर गिरीले चुनाव आएको सुन्दा निकै खुसी लागे पनि नागरिकता साथमा नभएकाले मतदान गर्न नपाउने सुनाउनुभयो । “मेरा कागजात धनकुटाको घरमा छ, कागजपत्र भेट्टाउन पाए मतदान गर्ने थिएँ, के गर्नु, टाढा छ ।”

यसैगरी, काठमाडौँ घर बताउने वरुण श्रेष्ठसँग पनि मतदानका लागि कागजपत्रको कमी छ । यस अघि उहाँले आफ्नै घरतिर मतदान गरेको सम्झनुहुन्छ । “आश्रमले कागजपत्र मिलाइदिए मतदान गर्न हुन्थ्यो”, उहाँले भन्नुभयो । बयासी वर्षीय दशनारायण श्रेष्ठले मतदान गर्न आवश्यक नागरिकता आफूसँग रहेको भन्दै आगामी निर्वाचनमा मतदान गर्ने बताउनुभयो । उहाँले सबै कागजात भएकै कारण सामाजिक सुरक्षा भत्ता पाइरहेको पनि सुनाउनुभयो । “खुसी लागेको छ, चुनाव आउँदैछ, हाम्रो समस्या पनि समाधान हुन्छ नि चुनाव आएपछि त”, उहाँले सुनाउनुभयो ।

बनेपा स्थायी घर भएकी र हाल आश्रममा आश्रय लिइरहनुभएकी सावित्री थापाले आफूलाई भोट माग्न कोही नआएको गुनासो गर्नुभयो । उहाँसँग पनि मतदान गर्न आवश्यक कागजात छैन । तर आश्रमले व्यवस्था गरेमा मत दिन उत्साहित रहेको बताउनुभयो ।

त्यस्तै, रामेछाप मन्थली घर भएर १३ वर्षदेखि आश्रममा बस्दै आउनुभएकी ८७ वर्षीया तुलामाया पुरीले आश्रममा बसेपछि एकपटक चुनावमा मतदान गर्नुभएको छ । उहाँले आफूसँग मत दिन आवश्यक नागरिकता रहेको भन्दै मतदान गर्न उत्सुक रहेको सुनाउनुभयो । “निकै खुसी लागेको छ, पाल्नेताल्ने कोही नभएपछि सरकारले पालिरहेको छ, आश्रममै मतदान केन्द्रको व्यवस्था भए झन् राम्रो हुने थियो”, उहाँले भन्नुभयो ।

तीस वर्षदेखि आश्रममा बस्दै आउनुभएकी ९३ वर्षीया धुलिखेलकी सान्नानी तिमिल्सिनाले श्रीमान् श्रीमती नै सोही आश्रममा आश्रय लिँदै आएको र श्रीमान्को केही समयअघि निधन भएको बताउनुभयो । उहाँले आफ्नो नागरिकता सामाजिक सुरक्षा भत्ता लिने क्रममा हराएको र आफन्तले भेट्टाएर राखिदिएको सुनाउनुभयो ।

यसअघि दुईरतीनपटक भोट हालेको स्मरण गर्दै चौथोपटक मतदान गर्न पुग्दा नामावलीमा नाम छैन् भनेर फर्काइदिएकामा आपत्ति जनाउनुभयो । आश्रममा बस्दै आउनुभएकी ठमेलकी ६५ वर्षीया धनकुमारीले सात वर्षअघि मतदान गरेको सम्झनुभयो । अहिले उहाँसँग मतदान गर्न आवश्यक कागजात केही छैन । आश्रममा बस्न थालेकाले घरबाट नागरिकता ल्याउन नपाएको उहाँको भनाइ थियो ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आश्रममा रहेका नागरिकलाई समानुपातिकतर्फको मतदान गर्न पाउने अधिकार रहन्छ । मतदाता नामावली भएकै स्थान भए प्रत्यक्ष, नभए समानुपातिक मत दिने अधिकार छ । तर हाल उनीहरू सबैले मतदानको अधिकार पाएका छैनन् । रासस

 

बिहीबार १ मंसिर २०७९ ०९:०८ AM मा प्रकाशित

प्रतिक्रिया