×

मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

images


धनुषा,  २९ असोजः ‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’

    दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।

    यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । यहाँका मठमन्दिरमा दसैँका लागि बनाइएका पन्डालमा साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् ।

    मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ । यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य भएको मान्यता छ ।

    मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले भन्नुभयो, “दसैँका बेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्रका लागि अनुष्ठान गरी सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन् । त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गर्ने गरिएको जनविश्वास छ । घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ ।”

    झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्नेबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “एक वा दुईटा सफा घैँटो किनेर त्यसलाई सफासुग्घर गरी प्वालै प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा मट्टितेल हालेर आगो सल्काइन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ  तर टाउकामा राखी नृत्य गर्नपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।”

    बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ । 

    यसरी मन्त्रिएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिलाले टाउकामा आगो बलिरहेको घैँटो राखेर हातको सहारा बिना नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिकरूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।

मङ्गलबार ३० असोज २०८० ०२:०५ PM मा प्रकाशित

प्रतिक्रिया