×

‘प्रचण्ड’ सरकारको निरन्तरता किन चाहादैन ‘शेखर-गगन’ समूह ? 

images

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हेटौँडा पुगेर नेता शेखर कोइरालाले पत्रकारहरूसँग भने– ‘हामी देशकै ठूलो दल हौँ । हामीसँग ९० सिट छ । हामीले पनि ठोस निर्णय लिन सक्छौँ । यसैगरी सरकार सञ्चालन गर्ने प्रधानमन्त्रीको सोच भए कांग्रेसले प्रधानमन्त्री परिवर्तन गर्न लाग्नुपर्छ ।’

कोइरालाको यो अभिव्यक्तिले गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) मौन बसे पनि कांग्रेसभित्र भने जुहारी चलेको छ । कांग्रेस संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका नेता शेखर कोइरालाले दिएको अभिव्यक्तिबारे पार्टीका शीर्ष नेताहरूले क्रमशः जवाफ दिँदै आएका छन् । 

संस्थापन पक्षका नेताहरू विगतको सहमतिकै आधारमा सरकारले निरन्तरता पाउनेमा विश्वस्त देखिन्छन् । उनीहरूले पार्टीका कतिपय सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विगतको सहमतिका आधारमा निरन्तरता पाउने बताएका छन् । 

तथापि संस्थापनइतर पक्षका नेता तथा पार्टी महामन्त्री गगनकुमार थापाले पनि शेखरकै अभिव्यक्तिलाई जोड दिएका छन् । उनले पनि प्रचण्ड सरकारले भ्रष्टाचार, सुशासन र पारदर्शितामा जस्ता कार्य गर्न असमर्थ भएको आरोप लगाउँदै विकल्पको खोजी गर्नुपर्ने धारणा राखेका छन् । 

महामन्त्री थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युका विषयमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले सदनमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

थापाले प्रधानमन्त्रीले उक्त प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढंगले अभिव्यक्ति नदिएकोमा आपत्ति जनाए । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए । 

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र सदनमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे । उनले सो घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । उनले यी र यस्तै कुरामा अनावश्यक टीकाटिप्पणी गर्ने र सरकारको विकल्पबारे बोल्ने गरेका छन् । 

त्यस्तै इतरपक्षका अर्का नेता तथा सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासन कायम हुनै नसक्ने तर्क गरेका छन् । आज (आइतबार) त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै केसीले भ्रष्टाचार व्याप्त समाजमा सुशासन कायम हुन नसक्ने तर्क गरे । 

उनले भने– ‘अहिले दलहरूप्रति वितृष्णा छ, सुशासनको कुरा सरकारले गरे पनि भ्रष्टाचारविहीन समाजमा मात्र सुशासन सम्भव हुन्छ । अहिले चारैतिर भ्रष्टाचार छ, सुशासन खोइ ? ‘लोकतान्त्रिक प्रणालीमा व्यक्ति हावी हुँदा समाज प्रणालीको भन्दा पनि व्यक्तिको पछि लाग्न थालेको छ ।’

तर, संस्थापन पक्षका अधिकांश नेताले सरकारको निरन्तरतामा ब्रेक लाउन नहुने तर्क गरेका छन् । ८–९ महिना सरकार टिक्ने र टिकाउने पुरानै प्रवृत्ति दोहोर्याए देशले विकासको गति लिन नसक्ने उनीहरू बताउँछन् । 

कांग्रेस नेता डा.शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउँदै आएका छन् । आज (आइतबार) चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि सरकार परिवर्तनको सम्भावना नरहेको बताए ।

उनले भने– ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ,’ सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । 

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड असाधारण व्यक्ति भएको बताए । ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ भइहाल्यो,’ –उनले भने ।

कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् । आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा शंका नगर्न आग्रह गरे । 

उनले भने– ‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ, पूर्वसहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।’ वर्तमान गठबन्धन सरकारको हेराफेरी नहुने उनको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा निधिले जोडदिए । 

यद्यपि इतर पक्षले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको विकल्प खोजिरहेको छ । प्रचण्डको विकल्प खोज्नु भनेको कांग्रेसले प्रधानमन्त्रीमा एमालेलाई समर्थन गर्नु नभएको महामन्त्री थापा बताउँछन् । ‘सकभर कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्छ । यदि त्यसो नभए विकल्पको खोजीमा हामी लागिरहन्छौँ,’ –थापाले भने । 

कांग्रेस संस्थापन इतर शेखर–गगन पक्षले प्रधानमन्त्री प्रचण्डको निरन्तरता नचाहानुमा पछिल्ला उद्वेलित घटानाको निष्पक्ष छानबित नहुनु, आफ्ना सांसद मन्त्री हुनबाट बञ्चित गराइनु, विभिन्न सरकारी उच्च पदमा नेता तथा कार्यकर्तालाई भर्ती हुनबाट रोक्नु आदि कारणले सरकारको विकल्प खोज्दै आएको कांग्रेस एक नेता बताउँछन् । 
 
 

आइतबार​ ३१ भदौ २०८० ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया