×

जुम्ला विमानस्थलको धावन मार्ग विस्तार गर्न मन्त्री रोकायाको पहल

images

जुम्ला–कर्णाली प्रदेश मुकाम सुर्खेतपछि दोस्रो ठूलो सहर जुम्लाको जुम्ला विमानस्थल विस्तार गर्न छलफल भएको छ । जुम्ला विमानस्थल स्तरोन्नति तथा ठूला जहाज अवतरणका लागि धावन मार्ग विस्तार गर्न लागिएको हो । 


धावन मार्ग विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल भएको छ । 


दुई मन्त्रीबीचको छलफलमा जुम्ला विमानस्थलको ३०० मिटरसम्म धावन मार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ । विमानस्थल स्तरोन्नति गरी ठूला जहाज अवतरण गराउन धावन मार्ग विस्तारका लागि तत्काल पहल गर्ने पर्यटनमन्त्री आलेले प्रतिबद्धता जनाए । 

 


कर्णालीका भौतिक पूर्वाधारमन्त्री रोकायाका प्रमुख स्वकीय सचिव अमर रोकायाका अनुसार विमानस्थलको धावन मार्ग विस्तारका लागि सर्वेक्षण गर्न पर्यटनमन्त्री आलेले तत्कालै प्राविधिक टोली खटाउने बताएका छन् । धावन मार्ग विस्तारका लागि प्राविधिक टोलीको सर्वेक्षणपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढ्नेछ । 


‘जुम्लाको माग र आवश्यकतालाई हेरेर ठूला जहाज अवतरण गराउन विमानस्थल स्तरोन्नतिको पहल भइरहेको छ,’ मन्त्री रोकायाले भने, ‘तत्काल ३०० सय मिटर धावन मार्ग विस्तार गर्दै थप स्तरोन्नति प्रक्रिया क्रमशः अघि बढ्नेछ ।’

 


हाल जुम्ला विमानस्थलको धावन मार्ग ६ सय ७५ मिटर छ । सोही कारण साना कार्गो जहाज मात्रै अवतरण हँुदै आएका छन् । विमानस्थलको धावन मार्ग १५ देखि १८ सय मिटरसम्म विस्तार गर्न सके ठूला जहाज सजिलै अवतरण गराउन सकिनेछ । 


विमानस्थल विस्तार गर्न विस्तृत अध्ययनका लागि १७ लाख ६९ हजार ९ सय १२ रुपैयाँ बजेट चालू आर्थिक वर्षमा विनियोजन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार विमानस्थल विस्तारको विस्तृत अध्ययनको केही काम भएको छ ।


उनले भने, ‘बुद्ध एयरका प्राविधिक टोलीले पनि जुम्ला आएर अध्ययनको काम गरेको छ । कोरोना संक्रमणका कारण अध्ययनको अझै केही काम बाँकी छ । गत वर्ष विमानस्थल विस्तार गर्न १ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।’ विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन भए पनि जग्गा अधिग्रहणको काम नहुँदा बजेट फ्रिज गएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । 

बिहीबार ५ फागुन २०७८ ०१:४० PM मा प्रकाशित

प्रतिक्रिया