×

हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री पम्फा भुसाल

images

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेट भएको छ। मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। 


सो अवसरमा मन्त्री भुसालले नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजमको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको बताइन्। भेटमा मन्त्री भुसालले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी थिइन्।

महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र बढ्दो भूमण्डलीय तापक्रम वृद्धि  नियन्त्रण गर्नका लागि हिमालयको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यक रहेको बताइन्।

ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलासययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बूढीगण्डकी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई प्राथमिकतामा राखेको बताइन्। 

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले संकट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गरिन्। त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन्।

नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूतले बताइन्। ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनको भनाइ थियो।

बिहीबार ५ फागुन २०७८ ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया