×

बालुवाटारमा केपी ओलीको–माधव नेपाल र रमेश लेखकसँग भनाभन , कसले के भने ?

images

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा भनाभन भएको छ । प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक थाल्दै आफूलाई विश्वासको मत दिएकामा सबै दललाई धन्यवाद दिए ।

आइन्दा पनि सहमतिबाटै अघि बढ्न आवश्यक रहेको भन्दै उनले कित्ताबन्दी नगर्न दलका नेताहरुलाई अनुरोध गरे । प्रचण्डले भने, ‘म एउटा गठबन्धनबाट प्रधानमन्त्री बनें, तर बाँकी पार्टीहरुप्रति पनि मेरो कहीँ न कहीँ दायित्व छ । आउनुहोस्, सहमतिबाटै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत पदमा साझा दृष्टिकोण ब नाऔं ।’

प्रचण्डले यो पनि भन्न छुटाएनन्, ‘एमालेसँग छलफल अघि बढिसकेको छ । त्यस अनुसार ती पदहरुमा उम्मेदवार आउनेछन् । तपाईंहरुले पनि त्यसै बमोजिम सदाशय राखिदिनुभयो भने अघि बढ्न सजिलो हुने थियो । त्यसपछि कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा मिलेर जानुपर्ने धारणा राखे । उनले भने, 'राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तटस्थ पद हो । यसमा सत्ता र प्रतिपक्षी सबै मिलेर जानुपर्छ । संविधान र अर्थतन्त्र जोगाउन सबै मिलेर जानुको विकल्प छैन ।'
 
पौडेललाई विचैमा रोकेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिवादमा उत्रिए । उनले भने, 'राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पुस १० गते नै टुंगिसकेको छ । राष्ट्रपति र सभामुख  एमालेले लिनेछ । उपराष्ट्रपति माओवादी र उपसभामुख राष्ट्यि स्वतन्त्र पार्टीले लिने सहमति  भएको छ । यसमा चर्चा गर्नु बेकार छ ।'

यस्तै ओलीले कांग्रेसले गर्न खोजेको संसदीय अभ्यासमाथि पनि प्रश्न उठाए । 'यो कस्तो अभ्यास गर्न खोजेको हो ? संसदमा प्रतिपक्ष नै छैन । प्रमुख प्रतिपक्षले सरकारलाई विश्वासको मत दिसकेको छ । कांग्रेस त प्रतिपक्षी दल नै होइन,' ओलीले भने ।

ओलीको अभिव्यक्तिलाई कांग्रेस संसदीय दलका मुख्य सचेतक रेमश लेखकले खण्डन गरे ।  ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौँ बरु राष्ट्रिय सहमतिको पक्षमा छौँ । संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएका हौँ,' ओलीलाई लेखकको जवाफ थियो । 

यता आफ्नो पालोमा एकीकृत समाजवादी अध्यक्ष नेपाल ओलीतिर हेर्दै कड्किए, ‘तपाईंले जसो–जसो भन्नुहुन्छ, त्यसै–त्यसै मान्दै जाने हो भने त्यही हो सहमति ? हाम्रो काम चाहिँ तपाईंले भनेको मान्दै जाने हो ?’ साथै अध्यक्ष  नेपालले बैठकमा जतना समाजवादी पार्टी नेपालको खोजी गरेका थिए ।

बैठकमा नेपालले भने, ‘तपाईंहरुको हालत यही देखिसकेको छ । सरकारलाई समर्थन गरेका उपेन्द्रजी हुनुहुन्न, उहाँ किन आउनु भएको होइन ?’ जवाफमा प्रचण्डले आफूहरुले जसपालाई मधेस मुख्यमन्त्री, अन्य प्रदेशमा मन्त्री र संघमा दुई मन्त्री दिँदा पनि असन्तुष्ट भएको बताए । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका अनुसार प्रचण्डले देउवा लगायत नेताहरुलाई सोधेका थिए, ‘सबैले मलाई मत दिएपछि अब प्रतिपक्ष हुन्छ कि नाइँ ?’

देउवाले प्रचण्डलाई समर्थन दिए पनि कांग्रेस नै प्रमुख प्रतिपक्ष रहेको जिकिर गरेका थिए । भट्टराईले बैठकमा अझै यो नयाँ गठबन्धनले कम्तीमा पाँच छ वर्ष चल्नुपर्ने तर्क गरेका थिए । उनले भने, ‘शान्ति प्रक्रिया लगायत थुप्रै काम बाँकी छन् । संघीयता कार्यान्वयनमा चुनौती छन् । सिमाना विवादहरु पनि छन् । लिपुलेक र लिम्पियाधुराका विषय बाँकी छन् । त्यसैले सहमतिमा जानुपर्छ ।’

उनले कांग्रेस लगायत दलहरुलाई जिम्मेवार भएर सोच्न आग्रह गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई प्रतिपक्षी भूमिका बस्न सुझाएका थिए ।

उनले भने, 'मुलुकको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसका योगदानका हामी सम्मान गर्छौं । कांग्रेसबाट रचनात्मक प्रतिपक्षी भूमिकाको अपेक्षा गर्छौं ।' राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखबारे सत्ता साझेदार दलबीच हुने सहमति अनुसार रास्वपा अगाडि बढ्ने लामिछानेको भनाइ थियो ।

बैठकमा सहभागी स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले वर्तमान संविधान नमान्नेलाई नै उपप्रधानमन्त्री बनाएकोमा आपत्ति जनाए । संविधान तलमाथि परे त्यसको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने सिंहको टिप्पणी थियो ।

उनले भने, 'तपाईको नेतृत्वमा जनयुद्ध भएको थियो । त्यसैको बलमा यो व्यवस्था आएको थियो । तपाईकै नेतृत्वमा यो संविधान र यो व्यवस्था जाने भयो ।' कांग्रेस र एमालेलाई सँगै राखेर अगाडि बढ्ने कुरा घातक हुने सिंहले प्रधानमन्त्री प्रचण्डलाई सुझाएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए ।

त्यस्तै एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए ।

मङ्गलबार ३ माघ २०७९ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया