×

कोशी प्रदेश सरकार– तीन दलका शीर्ष नेताहरू अविश्वस्त, शेखरप्रति शंका 

images

काठमाडौं । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संस्थापनइतर नेता केदार कार्कीले कोशी प्रदेश सरकारलाई पूर्णता दिन बाँकी नै छ । उनले आइतबार दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

कांग्रेस र एमालेबाट एक÷एक जना मन्त्री पदमा नियुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर रानालाई मन्त्री पदमा नियुक्त गरेका हुन् । 

यद्यपि मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारको क्रममा एमालेबाट रानालाई मन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा झस्किएका छन् । 

शनिबार कोशी सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त भएलगत्तै केन्द्रमा प्रचण्ड–देउवा र कांग्रेस संस्थापनइतर पक्षका नेता डा.शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको थियो । 

‘वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ,’ सहमति पत्रमा भनिएको छ, ‘यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुनदिने छैनौँ ।’ प्रधानमन्त्रीसहित तीन जनाले हस्ताक्षर गरेको उक्त पत्रमा उल्लेख छ । 

यसका साथै उनीहरूले कोशी सरकारलाई केन्द्रको सत्ता गठबन्धनअनुसार गठन गर्ने अघोषित सहमति गरेको स्रोतको दाबी छ । यसरी जाँदा सरकार गठनको क्रममा कांग्रेस संस्थापन–इतरपक्ष, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका दलहरूका प्रदेश सांसद मन्त्री बन्न पाउने थिए ।

यसो हुँदा एमालेलाई सरकारमा जान नैतिक संकट पर्ने पक्का थियो । नैतिकताको आधारमा एमाले सरकारबाट बाहिरिनु परे केन्द्रको सत्ता गठबन्धनले प्रदेशमा पनि निरन्तरता पाउँथ्यो । यहीँ रणनीति अपनाएर काठमाडौंमा शनिबार साँझ प्रचण्ड, देउवा र शेखरबीच सहमति भयो । 

तर, उक्त सहमतिविपरीत मुख्यमन्त्री कार्कीले सरकारमा एमालेलाई पनि समेटेपछि प्रचण्ड–देउवा सशंकित बनेका छन् । शनिबार शेखरले गठबन्धनलाई कमजोर हुन नदिने सहमति पत्रमा हस्ताक्षर गरेको भोलिपल्टै मुख्यमन्त्री कार्कीले एमालेका रानालाई मन्त्री पदमा नियुक्त गरेपछि सहमति उल्लंघन भएको भन्दै प्रचण्ड–देउवा शेखरप्रति असन्तुष्ट छन् । 

यद्यपि यसबारे नेता शेखरले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । प्रचण्ड–देउवाले पनि उनीसँग छलफलसमेत नगरेको शेखर निकटवर्ती बताउँछन् । 

‘बरू प्रधानमन्त्री र सभापतिज्यू शेखरप्रति सशंकित बन्नुभएको छ । कोशी सरकारको कोर्षमा खलल ल्याउने मुख्यपात्रको रूपमा शेखर दाइलाई दोषी ठान्नु भएको छ,’ उनी भन्छन्, ‘दाइलाई यसरी शंका गर्नुभन्दा पनि बसेर थप छलफल गरी अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ । शंका गरेर केही हुनेवाला छैन । यद्यपि प्रधानमन्त्री र सभापतिले चाहे कोशीको कोर्ष करेक्सन हुन पनि सक्छ ।’

प्रचण्ड–देउवा शेखरप्रति सशंकित छँदैछन् । उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि उनीप्रति विश्वस्त छैनन् । प्रधानमन्त्री र सभापतिसँगको सहमति तोडे पनि ओली विश्वस्त देखिँदैनन् । यो बीचमा शेखरले थप रणनीति अपनाउने हुन् कि ? यो सोचेर ओली विश्वस्त छैनन् । 

शनिबार कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त भइरहँदा प्रचण्ड–देउवा र शेखरबीचको सहमतिले ओलीको मनमा चिसो पसिसकेको थियो । यद्यपि यसबारे ओलीले बोल्न हतारो गरेनन् । अहिलेसम्म पनि केही प्रतिक्रिया दिएका छैनन् । 

कांग्रेसमा भने कोशी सरकारको कोर्षले नयाँ मोड लिएपछि विवाद उत्पन्न भएको छ । एमाले र माओवादी केन्द्रमा सानो विवादले ठूलोरूप धारण गर्छ भने कांग्रेसमा त्यस्तो देखिँदैन । विवाद समाधानका लागि सभापति देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दैछन् । 

सोमबार २९ असोज २०८० ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया