×

आरजु राणा देउवा विरुद्ध मिडिया ट्रायल गरियो- नेपाली कांग्रेस

images

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाविरुद्ध मिडिया ट्रायल भइरहेको आरोप लगाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियासँग २ करोड लिएको अडिओबारे प्रहरीले अनुसन्धान गरिरहेका बेला कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन्।

नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको एक साता भइसकेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए पनि कांग्रेसले कुनै निर्णय गरेको छैन । अर्थ मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानलाई सघाइरहेको बताएका छन्। साथै महतले सभापति शेरबहादुर देउवा पनि यो प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य खाण पक्राउ परेपछि कांग्रेसका प्रवक्ताले पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन्। यो विषयमा पार्टीका बैठक र सार्वजनिक रूपमा पनि सभापति शेरबहादुर देउवा किन मौन हुनुहुन्छ? भन्ने प्रश्नमा प्रवक्ता महतले भने- सभापतिको धेरै बोल्ने बानी छैन। उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भन्नुभएको छ। दोषीलाई बचाउनु पर्छ भन्ने हामीले भनेका छैनौं।

यही प्रकरणमा एक अडिओमाथि प्रहरीले छानबिन गरिरहँदा कांग्रेस सांसद मञ्जु खाणबारे अनेक  चर्चा भइरहेका छन्। उनी अहिले कहाँ छिन भन्ने प्रश्नमा महतले भने- उहाँ पार्टीको केन्द्रीय सदस्य हो। केन्द्रीय सदस्यलाई हामीले फलो गर्दैनौं।

खाणका श्रीमान बालकृष्ण खाण गत साता पक्राउ परेपछि मञ्जु सार्वजनिक रूपमा देखिएकी छैनन्। उनी संसद बैठकमा पनि अनुपस्थित भएकी छन्। प्रवक्ता महतले अर्की सांसद आरजु राणा र मञ्जु खाणबारे अहिले मिडिया ट्रायल भइरहेको तर्क गरे। ‘अहिले आरजु राणाविरुद्ध मिडिया र सामाजिक सन्जाल ट्रायल भइरहेको छ। आरजुको केसमा उहाँले उक्त अडिओको सत्यतथ्य प्रमाणित होस् भनेर साइबर ब्युरोमा आफैंले उजुरी गर्नुभएको छ’, उनले भने, ‘मिडिया र सामाजिक सञ्जाल ट्रायल गरेर अनुसन्धान नै नसकिएको केसमा कसैलाई दोषी हो भनेर भन्न भएन।’
 
उनले उक्त प्रकरणमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए।  ‘उक्त अडिओ झुटो हो भन्ने हाम्रो विश्वास छ। आरजु राणाले पनि यही भन्नु भएको छ’, उनले अगाडि भने, ‘अडिओ झुटो र नक्कली हो भन्ने हामीलाई लाग्छ। नभएको कुरालाई जबरजस्ती हो हो भनिँदैछ। पहिला नै एउटा माहोल बनाउने काम भएको छ। त्यस्ता अफवाहका आधारमा निष्कर्ष निकाल्नु भएन।’

डा. आरजुलाई अहिले सामाजिक सञ्जालमा आक्रमण गरिएको पनि महतले बताए। ‘आरजु अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा न आरोपित हो न उहाँविरुद्ध कुनै प्रमाण छ’, महतले भने, ‘यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी हो भन्न पाइँदैन। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
पक्राउ परेका केन्द्रीय सदस्य खाणले आफू यो प्रकरणमा निर्दोष रहेको बताएकाले उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन नगरिकएको महतले बताए।

‘टोपबहादुर रायमाझी र बालकृष्ण खाणको मुद्दा एकै किसिमको होइन,’ महतले भने,‘उहाँले म निर्दोष छु प्रमाणित गरेर देखाउँछु भन्नुभएको छ। दोषी प्रमाणित नहुँदै दोषी करार गर्ने कुरा नमिल्ने भएकाले पार्टीले कारबाही गरेको छैन।’

 

मङ्गलबार २ जेठ २०८० ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया