×

नक्कली शरणार्थी प्रकरणले सत्ता गठबन्धन तलमाथि हुँदैन- अर्थमन्त्री प्रकाशशरण महत

images

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतको दाबी छ ।

कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे अनुसन्धान भइरहेकाले अहिले निर्णय लिन हतार हुने बताए ।

उनले भने, ‘अनुसन्धानको निष्कर्ष आएको छ । अनुसन्धान परिपक्व होस् । त्यसको निष्कर्ष आओस् । उहाँले निर्दोछु साबित गर्छु भनिराख्नुभएको छ । अनुसन्धान प्रक्रिया अघि बढोस् निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ । त्यसैले हामी अहिले निर्णयमा पुगिसकेका छैनौं ।’ उनले दोषीलाई कारबाही गर्ने बताए ।

उनले भने, ‘बचाउनुपर्छ हामी भन्दैनौँ । त्यसैले उहाँको अनुसन्धानपछि मात्रै निर्णय गर्छौं । उहाँले छानबिनमा सघाउँछु भन्नुभएको छ ।’ महतलाई खाणकी पत्नी मञ्जु खाण कहाँ छिन् भनेर महतलाई प्रश्न गरिएको थियो । जवाफमा उनले को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा नभएको स्पष्ट पारे ।

साथै, उनले यो प्रकरणमा मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको पनि गुनासो गरे । ‘आरजु राणाको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । मिडिया ट्रायल गरेर दोषी हो भनेर भन्न भएन । यस प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक अडियो झूटो हो भन्ने हाम्रो विश्वास छ ।’ 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् भन्ने आफूहरूको भनाई रहेको पनि बताए । महतले यही प्रकरणका कारण सत्ता समीकरणमा कुनै फेरबदल नहुने पनि दाबी गरे ।

मङ्गलबार २ जेठ २०८० १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया