×

बालकोट गएनन् प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान नौ बजे बोलाइएको तीन दलको बैठकमा सहभागी भएनन् । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बालकोटमा बस्ने तय भएकाे बैठकमा प्रधानमन्त्री अन्तिम समयमा अनुपस्थित भएका हुन्।

दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान बालकोटमा बैठक बोलाइएको थियो। तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका हुन्। 

सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी कानुन, संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायत विषयमा सहमति जुटाउन संवाद गरिरहेका थिए। प्रधानमन्त्रीले कार्य व्यस्तताको कारण बैठकमा सहभागी नहुने जानकारी दिएपछि बैठक स्थगित भएको एमालेका सांसद महेश बर्तौलाले जानकारी दिए ।

'शीर्ष तहमै पहिले नै बालकोटमा बस्ने सहमति भएको थियो। त्यहीअनुसार प्रधानमन्त्री र सभामुखको सल्लाहमा बैठक बोलाइएको थियो', बर्तौलाले भने, 'तर प्रधानमन्त्रीले बैठकमा आउने अस्वीकार गरेपछि शंका गर्ने वातावरण बनेको छ।' बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गर्नेगरी बैठक तय भएको थियो ।

सरकारले संसदमा ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेको छ । सोही विधेयक सदनमा सर्वसम्मत टुंगो लगाएर द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउने उद्देश्यले प्रधानमन्त्रीले सभामुखसहित प्रतिपक्षी एमालेसँग सहमति जुटाउन गृहकार्य गरिरहेका छन् ।

प्रतिपक्षी एमालेले संशोधन विधेयक पारित गर्न अवरोध गर्नसक्ने आशयले उक्त संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्रीले केही दिनयता सभामुखसहित एमाले अध्यक्ष ओलीसँग छलफल गर्न दौडधुपमा ब्यस्त छन् ।

आइतबार​ ३ बैशाख २०८० ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया