×

एकीकृत समाजवादी क्षयीकरण हुनुमा शीर्षस्थ दोषी, नेताहरूद्वारा धमाधम पार्टी परित्याग 

images

काठमाडौं । नेकपा (एमाले)बाट विघटित एकीकृत समाजवादी निरन्तर ओरालो यात्रामा छ । देशका कयौँ जिल्लाहरूमा पार्टीको सांगठानिक संरचना प्रायः शून्यजस्तै छ । 

जिल्लामा पार्टीको नेतृत्वदायी भूमिका निर्वाह गर्ने सिंगो पंक्ति एमाले र अन्य दलमा प्रवेश गर्नेक्रम रोकिएको छैन । विभाजनको तीन वर्ष पूरा भएयता उसले सत्तारोहणमा सफलता प्राप्त नगरेको होइन । तर, पार्टीगत रूपमा भने उसले निरन्तर असफलता व्यहोर्नु परेको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले २०७८ भदौमा एमालेबाट विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । त्यसयता उनले सत्ताका लागि पछाडि फर्केर हेर्नु परेको छैन । किनकि नेपाललाई हालसम्म सत्तासिन दलहरूले साथ दिँदै आएका छन् भने उनले पनि ती दलहरूलाई साथ दिएका छन् । 

तथापि पार्टी र सांगठानिक क्षयीकरण हुनेक्रम भने रोकिएको छैन । दोसे वरियताका प्रायः नेता एमालेमै फर्किने गरेका छन् । भर्खरै गत साउन २८ मा भक्तपुरमा झन्डै ३६ जना नेता तथा कार्यकर्ताले एकीकृत समाजवादी परित्याग गरेका थिए । 

तीमध्ये जिल्ला तहमा काम गरिरहेका युवा संघ अनुशासन आयोगका अध्यक्ष एवं भक्तपुर जिल्ला सचिवालय सदस्य दीपक थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्कासहित ३६ जनाले पार्टी परित्याग गरेका थिए । उनीहरू सबै एमालेमै फर्किएका छन् । साउन २७ गते बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै उनीहरूले पार्टी प्रवेश गरेका थिए । 

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा एकीकृत समाजवादीको बाहुल्यता न्यून छ । यी दुवै प्रदेशका थुप्रै जिल्लामा प्रतिनिधित्व गर्ने नेता तथा कार्यकर्ता पनि एमालेमै फर्किसकेका छन् । जाजरकोट जिल्ला सचिव गंगा शाहीलगायतका केही नेता पार्टी गठनको वर्ष दिन नबित्दै एमालेमै फर्केका थिए ।

त्यस्तै, कोशी, मधेस, गण्डकी, लुम्बिनी प्रदेशका जिल्लामा पनि पार्टीको उपस्थिति कमजोर देखिन्छ । हुन त पार्टी गठनको तीन वर्षमात्रै भएको छ । कतिपय सांगठानिक संरचना निर्माणकै क्रममा रहेको पार्टीका नेताहरू बताउँछन् । तर, तीन वर्षमा जति सांगठानिक प्रगति गर्नुपथ्र्यो, त्यसो नभएको नेताहरू स्वीकार्छन् । 

पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्ता पलायन रोक्न शीर्ष नेताहरूले नै विकल्प नखोजेको एक नेता बताउँछन् । इसञ्चारपाटीसँग संक्षिप्त संवाद गर्दै ती नेताले भने– ‘पार्टीका शीर्ष नेतासँग नेता तथा कार्यकर्ता रोक्ने भनेकै सरकार भएको छ । सरकारमा जसले मन्त्री बन्ने बाटो पाउँछ, उसले मात्रै मेरो पार्टी भनेर गर्व गर्न सकेको छ । ऊ निकट पात्रहरू खुसी देखिन्छन् । अन्यथा अनेकन् बहाना झिकेर पार्टीमा खैलाबैला मच्चाउने, परित्याग गर्न खोज्ने र एमाले प्रवेश गर्ने गरेको देखिएको छ । यसबाट जोगाउन नेतृत्वदायी भूमिकामा रहेका नेताहरू नै सक्रिय हुनुपर्छ ।’

नाम नखुलाउने सर्तमा एकीकृत समाजवादीका एक केन्द्रीय सदस्य भन्छन्– ‘केही पार्टीका नेता तथा कार्यकर्ता पलयान हुनुको पहिलो कारण स्वार्थ हो । त्यो भनेको सरकारमा मन्त्री तथा लाभको पदमा पुग्न चाहेर मात्रै पार्टीमा अडिएका हुन् । अन्यथा उनीहरूसँग कुनै वैचारिक स्पष्टता नै देखिँदैन । यदि वैचारिक रूपमा प्रष्ट हुन्थे भने सरकारमा पुग्न, लाभको पद धारण गर्न चहादैनथे ।’

एकीकृत समाजवादीका शीर्षस्थ नेताहरू आफैमा वैचारिक अस्पष्टता भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच नै वैचारिक मतभेद भएको उनीहरूको तर्क छ । 

केही हप्ता पहिले बसेको पार्टी बैठकमै नेपाल र खनालको फरक वैचारिक मत देखिएको थियो । उनीहरूको वैचारिक धारणा समान नदेखिएपछि नेता तथा कार्यकर्ताले पार्टीको सांगठानिक क्षयीकरण हुनुमा शीर्षस्थ नेताको दोष रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । 

शुक्रबार​ २९ भदौ २०८० ०७:११ PM मा प्रकाशित

प्रतिक्रिया