×

बुढेसकालले छुँदासमेत सत्ता र शक्तिको मोह छाड्न नसक्ने राजनीतिक हस्तीहरू

images

काठमाडौं । राजनीतिमा युवापुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू चारदेखि सातपटकसम्म पनि चुनाव लड्दै आएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा उत्रिएको यो सातौंपटक हो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को यो चौथोपटक हो ।

चार दशकअघिका राजनीतिक हस्तीहरू चुनावी मैदान निरन्तर हाबी भइरहँदा राजनीतिमा लागेका युवा पुस्ता अवसरबाट वञ्चित भएका भएका छन् । निर्णायक तहमा पुराना नेताहरूकै हालिमुहाली रहिरहेको भन्दै राजनीतिक दलहरूमा असन्तुष्टि बढेको छ ।

पञ्चायती व्यवस्था फालेर प्रजातन्त्रको पुनः स्थापनाका लागि योगदान दिएका नेताहरूले पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीनवटा राजनीतिक व्यवस्था भोगचलन गरिसक्दासमेत अझै चुनाव लड्ने आकांक्षा त्याग्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।

नेपालमा ६० देखि ८० वर्ष, ४० देखि ६० र १८ देखि ४० वर्ष गरी तीववटा उमेर समूहका मान्छेहरू राजनीतिमा क्रियाशील रहे पनि ६० माथिकै नेताहरूले देश सञ्चालन गरिरहेको जिकिर गर्दै महरले भने– ‘नेपालको राजनीतिमा तीन पुस्ता हाबी छ ।

तर, नेतृत्वमा ६० देखि ८० वर्ष उमेर समूहकै पुस्ता छन्, जसले गर्दा देश र जनताका लागि नयाँ नीति कार्यक्रम आउनसक्ने अवस्था नै छैन ।’ पटकपटक देशको नेतृत्व गरिसकेका वृद्ध नेतृत्वबाट समयानुकूल राजनीतिक सुधारको अपेक्षा गर्न नसकिने टिप्पणी गर्दै उहाँले दुःखेसो पोख्नुभयो– ‘युवाहरूले समेत पार्टीभित्र हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् ।’

राजनीतिक व्यवस्था परिवर्तनका लागि लागेका नेताहरू पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीनवटा व्यवस्था फेरिईसक्दा समेत अझै चुनाव लड्ने आकांक्षा त्याग्न नसक्दा राजनीतिमा युवाहरूको आकर्षणसमेत घटेको टिप्पणी गर्दै कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले भने– ‘राजनीतिमा ऊर्जाशील समय खेर फालेर ६० वर्षपछि नेतृत्वमा पुग्दा समय परिवर्तन भइसक्ने र आफैंले पनि समयानुकूल काम गर्न सक्ने अवस्था हुँदैन ।’

नेपालको राजनीतिमा वि. सं २०१५ साल फागुन ७ गतेदेखि बालिग मताधिकारको आधारमा संसदीय निर्वाचनको सुरुवात भएको इतिहास छ । त्यसयताका हरेक राजनीतिक परिवर्तनका भुक्तभोगीहरू नै अहिले पनि चुनाव उठ्न छाडेका छैनन् ।

२०४६ साल चैत्र २६ गते पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्रको पुनःस्थापनापछि मुलुकमा दुईवटा संविधानसभा र ४ वटा संसदीय निर्वाचन गरी ६ वटा निर्वाचन सम्पन्न भइसकेको छ ।

यी सबै निर्वाचनमा निरन्तर भाग लिएका करिब एक दर्जन नेताहरू नै आगामी मङ्सिर ४ मा हुने संसदीय निर्वाचनमा होमिएका छन् ।

बुढेसकालले छुँदासमेत सत्ता र शक्तिको मोह छाड्न नसकेर चुनाव लड्दै गरेका नेताहरूमा सबैभन्दा धेरै संख्या नेपाली कांग्रेससँग आवद्ध रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

शुक्रबार​ २८ असोज २०७९ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया