×

खाण पक्षले थप समय माग्दा प्रतिरक्षा बहस लम्बियो

images

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणका वकिलहरूले थप समय माग्दा बुधबारसम्मका लागि प्रतिरक्षा बहस लम्बिएको छ। यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत चलिरहेको थुनछेक बहसमा प्रतिरक्षा बहसका लागि जिल्ला अदालत काठमाडौंले मंगलबारसम्मको समय तोकेको थियो।

अघिल्लो बुधबारदेखि सुरु भएको प्रतिरक्षा बहसका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ६ दिनको समय छुट्ट्याउँदै प्रतिवादी पक्षका वकिलहरूलाई मंगलबारसम्म आफ्नो बहस सकाउन निर्देशन दिएका थिए। तर मंगलबार पूर्वगृहमन्त्री खाण पक्षका वकिलहरूले आफ्नो बहस नसकिएपछि थप एक दिन समय मागेका थिए।

खाणको पक्षबाट प्रतिरक्षा बहस गरिरहेका पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल बार एसोसिएसनका अध्यक्षगोपालकृष्ण घिमिरेले थप समय मागेका हुन्। उनीहरूले इजलासमै थप समय मागेपछि न्यायाधीश न्यौपानेले मन मारीमारी बुधबारसम्मको समय दिएका छन्।

मंगलबार बहसकै क्रममा पहिला पूर्वन्यायाधिवक्ता खाती र त्यसपछि बारका अध्यक्ष घिमिरेले समय मागेका थिए। यसैक्रममा घिमिरेले भने, ‘मैले पनि नसक्ने भएँ यसरी त कामै गर्न नसकिने भयो। श्रीमान समय थप चाहिने भयो।’

घिमिरेले उक्त कुरा राखेपछि खातीले समय व्यवस्थापनका साथ बहस अगाडि बढाउनुपर्ने गरी रुलिङ गर्न आग्रह गरे। उनले भने, ‘कुरा दोहोरिएमा श्रीमानले रुलिङ गर्नुपर्‍यो। नयाँ तथ्य आएन रोक्नुपर्‍यो। यसरी हुँदैन, सकिँदैन श्रीमान्। थप समय व्यवस्थापन गर्नुपर्ने भयो।’

त्यसपछि न्यायाधीश न्यौपानेले पुराना कुरा नै दोहोरिरहेको र नयाँ कुरा नआएको भन्दै असन्तुष्टि पोखे। ‘आज पनि रमन श्रेष्ठले भनेको कुरा आएकै छ, दोहोरिएकै छ’, उनले भने। त्यसपछि घिमिरे र खातीले बुधबार ‘ब्रेक’ अघिको समय आफूहरूले पाउनुपर्ने प्रस्ताव अघि सारे।

पूर्वगृहमन्त्री खाणको पक्षबाट प्रतिरक्षा बहसका लागि वकिलहरूले थप समय मागेपछि इजलासमै केहीबेर न्यायाधीश र वकिलहरूका बीचमा रोचक सबाल–जवाफ भएको थियो।

त्यसपछि न्यायाधीश न्यौपानेको मुहारमा असन्तुष्टि देखिएको थियो। ‘अब त मैले हात उठाउनुपर्ने अवस्था आइसक्यो’, उनले भने, ‘तपाईंहरूअगाडि अदालत नै निरीहजस्तो भयो।’ घिमिरे र खातीले त्यसपछि पनि कर गरिरहेपछि न्यायाधीश न्यौपानेले बुधबार आधा दिनसम्मका लागि समय दिने घोषणा गरे।

खाणका तर्फबाट मंगलबार १० जना वकिलहरूले प्रतिरक्षा बहस गरेका छन्। अधिवक्ता पंकज कर्ण, अजयशंकर झा, नुरसिंह कार्की, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, प्रेमबहादुर खड्का, महादेव यादव, हरिहर दाहाल, मणिराम उपाध्याय, एकराज पोखरेल र रश्मी थापाले खाणको पक्षमा बहस गरेका छन्।

प्रकरणमा दोषी पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनालाई अभियोजन गरेको छ। तीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ फरार छन्। नागरिक दैनिकबाट

बुधबार ३१ जेठ २०८० ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया