×

बालुवाटार बैठक- संसदीय सुनुवाइ समितिको नेतृत्व टुङ्ग्याउने विषयमा जुट्यो सहमति

images

काठमाडौं । संसदीय सुनुवाइ समितिको नेतृत्व टुङ्ग्याउने विषयमा तीन दलका शीर्ष नेताहरुबीच सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलले संसदीय सुनुवाइ समितिको नेतृत्वको तय गरेको बताए। तर यसबारे विस्तृत विवरण उनले खुलाएनन्। यो बैठकले अन्य संसदीय समितिका सभापतिहरुमा पनि सहमति जुटाएको उनले बताएका छन्। 

‘तीन दलबीच संसदीय सुनुवाइ समिति र अन्य समितिको नेतृत्वमा करिब सहमति जुटेको छ’, उनले  भने, ‘अब कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय समितिका सभापतिहरुको नामलाई अन्तिम रुप दिनेछ।’

सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए।


 

आइतबार​ ३१ बैशाख २०८० ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया