×

एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

images

काठमाडौँ, २ फागुन : कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो । नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन् । उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन् । त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन् ।

बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन् । यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३÷१३ रन जोडे । कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिए । नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । योजितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।

बुधबार २ फागुन २०८० ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया