×

प्रणय दिवसमा बढ्यो गुलावको व्यापार, २ करोड ६० लाखको गुलाव आयात  

images

प्रतिक्षा आचार्य/ नेपाल न्युज बैक 
काठमाडौं । प्रणय दिवस सुरु हुन साता दिन अघिबाटै कमलादीस्थित आइरिस फ्लावर सपकी विष्णू शर्मालाई गुलावको फुल बेच्न भ्याईनभ्याई छ । दिउँसोको समयमा त गुलावको फुल खरिद गर्नेहरुको पसलमा भीड नै लाग्ने गरेको छ ।  ग्राहकको भिड नै लाग्न थालेपछि केही दिनका लागि उनले पसलमा सहयोगी समेत राखेकी छिन् । बिशेषगरी ‘रोज डे’ र ‘भ्यालेन्टाइन डे’का दिन गुलवको फुल खरिद गर्नेहरुको भीड बढ्ने गरेको उनको अनुभव छ । 


उनी भन्छिन्,‘पछिल्ला दिन प्रणय दिवस साताब्यापी रुपमा मनाउने चलन छ । यसबेला गुलाबको फुल गरिद गर्नेहरुको संख्या ह्वात्तै बढ्ने गर्छ । ‘रोज डे’ र ‘भ्यालेन्टाइन डे’का दिन खरिद गर्नेको संख्या अझ धरै हुन्छ । यस पटक पनि खरिद गर्नेको संख्या बढेका छन् ।’ प्रणय दिवस अधवैंशेभन्दा पनि युवा पुस्तामा बढी लोकप्रिय छ । त्यसो हुँदा गुलावको फुलमार्फत प्रेम व्यक्त गर्नेमा युवा नै धेरै हुने आम बुझाई छ । तर, पुष्प व्यवसायी शर्माको अनुभव अलिक भिन्न छ । उनको पसलमा युवा मात्रै होइन, अधवैंशे ग्राहक पनि उत्तिकै आउने गरेका छन् ।   


उनी भन्छिन्,‘पछिल्ला दिन गुलावको फुलका किन्ने ग्राहक युवा मात्रै छैनन्, बुबाआमा उमेरका ग्राहक पनि छन् । दिदीभाई र दाजुबहिनी पनि गुलावको फुल खरिद गर्न आउँछन् । प्रेम त जसले जसलाई पनि गर्न मिल्यो नी ।’ नेपाली बजारमा गुलावको फुल प्रति स्टीम १ सयदेखि एक सय ५० रुपैयाँसम्ममा बिक्रि हुने गर्छ । बजारमा उपलब्ध मध्ये ९० प्रतिशत फुल भारतबाट आयातित हुन् । पुष्प व्यवसायि शर्माको पसलमा राखिएका फुल पनि भारतबाटै ल्याइएका हुन् । 

‘फुल धेरै जसो ईन्डीयाबाट नेपालका विभिन्न्न होलसेल पसलमा आउँछन् । त्यहीँबाट हामीले खरिद गरेर ल्याउने हो । यहाँ राखिएका फुल पनि उत्तैबाट ल्याइएका हुन् ।’ उनले भनिन् ।  कमलादीकै अर्को पुष्प व्यवसायी हुन्, कृष्ण वलामी । ‘फ्लावर हव’का सञ्चालक उनी पनि केही दिनएता गुलावको फुल बेच्न व्यस्त छन् । २० देखि २५ बर्ष उमेर समुहका गुलाव प्रेमी ग्राहकको भिड पसलमा बढेका छन् ।

उनको पसलबाट पनि ‘रोज डे’ र ‘भ्यालेन्टाइन डे’का दिन तुलनात्मक रुपमा धेरै गुलाव बिक्रि हुन्छ ।  उनी भन्छन्,‘भ्यालेन्टाइन डेका लागि फुल किन्न विशेष गरी २० देखि २५ वर्ष उमेर समुहका ग्राहक वढी आउँछन् । कोहि उमेर ढल्केकाहरु पनि आउने गरेका छन् । ‘रोज डे’ र ‘भेलेन्टाईन डे’मा बढी पसल चल्छ । फुल किन्न महिलाभन्दा पुरुष वढी आउने गर्छन् ।’
गुलावका फुल उत्पादनका लागि तातो मौसम आवश्यक पर्दछ । नेपालमा बैशाखदेखि जेठसम्म मात्रै गुलाव फुल्न थाल्छन् । तर, प्रणय दिवस चिसो मौसममा मनाइन्छ । जुनबेला नेपालमा गुलाव नै फुल्दैन । त्यसो हुँदा माग धान्न भारतबाट ल्याउन परेको हो ।  पुष्प व्यवसायी वलामी भन्छन्,‘जाडो मौसममा ‘भेलेन्टाईन डे’ पर्छ । यसबेला नेपालमा उत्पादन न्युन हुन्छ । माग धान्न भारतको भर पर्नु पर्ने हुन्छ । अहिले पनि केही गुलाव नेपालका छन् । तर, धेरै ईन्डीयाका छन् । नेपालको मौसमले साथ नदिएर यस्तो भएको हो ।’

नेपालमा गुलावको फुल उत्पादन मौसमी मात्रै हुन्छ । बैशाखदेखि जेठसम्मको दिन गुलाव उत्पादनका लागि राम्रो हो । तर, व्यवसायीक ढंगले यस्ता फुलको खेती गरिएका छैनन् । केहीले टनेल बनाएर खेती गरेका छन् । तर, गुलाव फुल्न त्यति तापक्रमले पुग्दैन । फ्लोरिकल्चर एशोसियसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले नेपालमा व्यवसायिक ढंगले गुलाव फुलको खेती नभएको बताए । 

उनले भने,‘नेपालमा गुलाव फुलको मौसमी खेती मात्रै  हुन्छ । कसैकसैले टनेलमा पनि लगाएका छन् । तर, त्यति तापक्रमले गुफाव फुल्दैन । यसका लागि छुट्नै प्रविधि चाहिन्छ । त्यस्तो अभ्यास नेपालमा गरिएका छैनन् ।’ पुष्प व्यवसायी बलामी पनि यो तथ्यलाई स्वीकार गर्छन् । नेपाल सरकारले गुलाव उत्पादनमा प्रत्साहन गरे आयातलाई नियन्त्रण गर्न सकिने उनको भनाई छ । 


‘टनेल बनाएर धेरै लगानी गरेर गर्नेहरु पनि छन् । तर, त्यतिले पुग्दैन । हामी कहाँ खेती मौसमी मात्र भयो । त्यसो हुँदा भारतमा भर पर्नुे पर्ने भयो । जाडोमा फुल थोरै उत्पादन हुन्छ । नेपाल सरकारले फुल खेती गर्ने कृषकलाई उत्पादनमा प्रोत्साहित गर्न आवश्यक छ ।’ उनले भने ।
 

२ करोड ६० लाखको गुलाब आयात 

फ्लोरिकल्चर एशोसियसन नेपालका अनुसार यस पटकको प्रणय दिवसमा दुई लाख स्टीम गुलाव फुलको माग छ । जसका सात प्रतिशत मात्रै नेपाली उत्पादनले धान्न सक्छ । त्यसो हुँदा १ लाख ८६ हजार स्टीम फुलाव भारतबाटै ल्याउनु पर्छ । जसको मुल्य करिब दुई करोड ६० लाख रुपैयाँ पर्छ । 
एशोसियसनका अध्यक्ष मिनबहादुर तामाङले यस पटक ९३ प्रतिशत गुलाव भारतबाट आयात गर्नु परेको बताए । उनले भने,‘गत वर्षको तुलनामा यस पटक गुलाव फुलको माग धेरै छ । करिब दुई लाख स्टीम माग छ यो बर्ष । यसको सात प्रतिशत माग भने नेपाली उत्पादनले धान्छ । बाँकी सबै भारतबाट ल्याउनु पर्छ । जसको मुल्य दुई करोड ६० लाख रुपैयाँ पर्छ ।’

के भन्छन युवा ?  
प्रयण दिवसको बिषयमा युवायुवतीको बुझाई फेरिएको छ । जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । देखासिकि गर्ने उस्तै छन् । फनपार्कमा भेटिएकी रञ्जीता सुवेदी एक अर्कामा गिफ्ट साटासाट गर्नु राम्रो भएपनि भड्किलो तरिका अपनाउनु विकृति भएको बताउँछिन् । 

उनि भन्छिन्,‘प्रेममा परेकाले ‘सो अप’ गर्नै पर्छ भन्ने होईन् । सामान्य तरीकाले ‘रोज’ दिएर पनि मनाउन सकिन्छ । मेरा साथीलाई यस्तो दिईएको थियो, मलाई पनि त्यहि चाहिन्छ भन्ने ‘प्लानिङ्ग’ गरेर धुम्न जाने बढि देखिन्छन्  । त्यस्तो ठिक होइन । सामान्य ढङ्गबाट मनाउने सकिन्छ । देखासिकि गर्नु भएन ।’
उनकाअनुसार प्रेममा परेकाहरुले पढाईमा ध्यान नदिने र अभिभावकसँग आवश्यकभन्दा बढि रकम माग्ने, मंहगा तथा विलासी सामाग्री आदानप्रदान गर्ने अहिलेको युवामा देखिएका विकृति हुन् । 

कसरी सुरु भयो ‘भ्यालेन्टान’
प्रणय दिवस पादरी ‘सेन्ट भ्यालेन्टाइन’को वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर, भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो–अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् ।  युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।


भ्यालेन्टाइ विक
भ्यालेन्टाइन्स विकको सुरुवात फेब्रुअरी ७  ‘रोज डे’बाट सुरु हुन्छ । रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ । त्यस्तै पहेँलोलाई साथी, पिंक वा पिचलाई प्रशंसा र सेतो गुलाबलाई सम्बन्धको प्रतीक मानिन्छ । 
फेबु्रअरी ८(प्रपोज डे)- यस दिन आफ्नो पार्टनरलाई गिफ्ट र फूल दिएर प्रपोज गर्ने चलन छ।
फेब्रुअरी ९(चकलेट डे)- यस दिन आफ्नो प्रियजनलाई चकलेट दिएर प्रेम आदान–प्रदान गरिन्छ । चकलेटले सम्बन्धमा मिठास थप्ने विश्वास छ ।
फेब्रुअरी १०(तेडी डे)- जुन दिन आफ्नो प्रियजनलाई डल दिएर मनाईन्छ । यसको सांकेतिक अर्थ हुलेवाला बच्चामा लुकेको आनन्द हो ।
फेब्रुअरी ११(प्रमिस डे)- यस दिन प्रेम जोडीले एक–अर्काप्रति गर्ने प्रमिसले सम्बन्धमा विश्वासको वातावरण सिर्जना गर्छ र सम्बन्धलाई झन् कसिलो बनाउन भूमिका खेल्छ। फेब्रुअरी १२(हग डे)- हग गर्दा चिन्ता र तनाव पनि दूर हुने विश्वास छ । यस दिन एक–अर्कामा अंकमाल गरेर माया साटासाट गर्ने गरिन्छ । न्यानो स्पर्शसहितको                                            अंकमालले प्रेम जोडीलाई सुरक्षित महशुस गराउँछ ।
फेब्रुअरी १३ (किस डे)- यस दिन आफूले माया गर्ने मान्छेलाई माया स्वरुप चुम्बन गरेर माया प्रदर्शन गर्ने चलन छ ।
फेब्रुअरी १४(भ्यालेन्टाइन्स डे)- प्रेम स्वरुप आफूले माया गरेको मान्छेलाई यो दिन मायाको भाव प्रकट गर्दै प्रेमभाव दर्शाइन्छ ।

मङ्गलबार २ फागुन २०७९ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया