×

नक्कली शरणार्थी प्रकरणमा केशव तुलाधर पक्राउ

images

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले प्रहरीले केशव तुलाधरलाई पक्राउ गरेको हो। 

२७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको हो ।  उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । काठमाडौँको असन स्थायी ठेगाना भएका तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

अदालतको आदेशपछि पक्राउ पर्नेमा तुलाधर दोस्रो व्यक्ति हुन्। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले गत असार ११मा आशिष बुढाथोकीलाई पक्राउ गरेको थियो। 

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ,  भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जन थुनामा छन्। उनीहरूबाहेक १० जना अझै फरार छन‍्। प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको जनाएको छ।

बिहीबार २८ असार २०८० ०२:२२ PM मा प्रकाशित

प्रतिक्रिया