×

तीन सर्जकका तीन कृति लोकार्पण

images


भक्तपुर, १ वैशाख : वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगसहित तीन सर्जकद्वारा लिखित तीन पुस्तक सार्वजनिक गरिएको छ । 
    
नयाँ वर्ष २०८१ सालको अवसर पारेर एकै साथ साहित्यकार ग्वंगद्वारा लिखित ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा लेखिएको ‘भिन्नभिन्न ताल र सुरका झङ्कारहरु’ निबन्ध सङ्ग्र्रह तथा साहित्यकार तथा पत्रकार जीतेन्द्र रसिकद्वारा लिखित र ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सार्वजनिक गरिएको हो ।
    
समी साहित्य प्रतिष्ठानले सूर्यविनायकमा आयोजना गरेको तीन पुस्तक विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाललगायत पुस्तकका लेखकले संयुक्तरुपमा कृति लोकार्पण गर्नुभयो । 
    
कार्यक्रममा पूर्वकुलपति काइँलाले तिनै सर्जकको कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने बताउनुभयो । लेखक तथा वरिष्ठ संस्कृतिविद् ग्वंगःले लेखन र जीवनको अर्थबोधबारे चर्चा गर्नुभएको थियो ।  लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आफूले लेखन कार्यलाई निरन्तरता दिएको बताउनुहुँदै निकट भविष्यमा आफ्नो जेल जीवनको संस्मरण प्रकाशित गर्ने बताउनुभयो । 
    
त्यस्तै लेखक जीतेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाको खानी भएको र जीवनी कृति यो युगको एक दस्तावेज भएको चर्चा गर्नुभयो । कार्यक्रममा प्रा डा कुमार कोइराला, गीता त्रिपाठी र साहित्यकार गोपीकृष्ण ढुङ्गानाले तीनवटै पुस्तकको समीक्षा गर्नुभएको थियो ।
    
प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशन गरी प्रतिष्ठानले नेपाली वाङ्मयमा योगदान दिन सक्रिय भएको बताउनुभयो । उहाँले ‘समी साहित्य साधना सम्मान’ लगायतका सम्मान तथा पुरस्कार पनि छिट्टै घोषणा हुने बताउनुभयो ।

शनिबार १ बैशाख २०८१ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया