×

रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

images


काठमाडौं । मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको द न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ । न्युयोर्क पोस्टले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल–७६ विमान जङ्लमा खसेको जनाएको छ ।

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रुसहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन । न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सम्प्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ । अनलाइन समाचार माध्यमहरूले दुर्घटनामा सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् ।

“मस्कोको स्थानीय समयअनुसार दिउँसो एक बजे एक आइएल–७६ सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ । इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ ।

चालकहरूले आपतकालीन अवतरणका लागि एअरफिल्डमा फर्कने प्रयास गरे पनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ । टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जङ्लमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालक दल सक्षम भएको थियो । यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खसाल्दा सबैको मृत्यु भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

बुधबार ३० फागुन २०८० ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया