×

समनपुरमा 'ऐतिहासिक फागु बैरिया मेला महोत्सव–२०७९' हुँदै

images

समनपुर । जिल्लाको ऐतिहासिक समनपुर बजारमा फागु बैरिया मेला महोत्सव २०७९ आयोजना हुने भएको छ । गढीमाई नगरपालिकाले शनिबार एक पत्रकार सम्मेलनमार्फत यही फागुन १९ देखि २३ गतेसम्म सो मेला महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले भने, ‘यहि मिति २०७९ फागुन १९ गतेदेखि २३ गतेसम्म पनि यस गढीमाई नगरपालिकाले ऐतिहासिक फागु बैरिया मेला महोत्सव–२०७९ आयोजना गर्दैछ ।’ एक सातासम्म सञ्चालन हुने ऐतिहासिक फागु बैरिया मेलाबाट स्थानीय कला, साहित्य, संस्कृति, पर्यटन र ऐतिहासिकताको प्रवद्र्धन गर्न गर्ने लक्ष्य रहेको उनले बताए ।

यो मेलाको उद्देश्यहरुमा नेपालीहरुले ब्रिटिस सेनालाई समनपुरबाट लखेटेको ऐतिहासिक दिनको सम्झना गराउनु, नेपालकै गौरवशाली इतिहासको संरक्षण र प्रचार गर्नु, स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्नु, स्थानीय संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसार गर्नु, स्थानीय खानाको प्रवद्र्धन गर्नु, स्थानीय व्यवसायको विकास गर्नु, धेरै भन्दा धेरै पर्यटक भित्र्याउनु आदि रहेका छन् ।

मेलामा विभिन्न झाँकी तथा प्रदर्शनीहरु, विभिन्न व्यवसायिक स्टलहरु, सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु, व्यापार, व्यावसाय, स्थानीय खानाका विविध परिकारहरुको प्रदर्शनी तथा बिक्री आदि आयोजना गरिने प्रवक्ता श्रेष्ठको भनाई छ । ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको मेलामा लाखौं अवलोकनकर्ताको सहभागिता हुने नगरपालिकाले अपेक्षा गरेको छ ।

हरेक वर्ष लाग्ने मेलालाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउन मुख्य प्रायोजक, प्रयोजक, सहप्रायोजक र सहयोगीहरुको पनि व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले बताए । इच्छुकहरुले छिटोभन्दा छिटो सम्पर्क गर्नका लागि पनि उनले आह्वान गरेका छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, वडा नंं १ का वडाध्यक्ष रामपुकार राय यादवले पनि सम्बोधन गरेका थिए । 

गढिमाई नगरपालिकाको आयोजनामा ब्रिटिस फौजलाई पराजित गरेको ऐतिहासिक दिनको सम्झनासहित समनपुरमा हरेक वर्ष फागु पूर्णिमाको अवसर पारेर मेला लाग्ने गरेको नगरप्रमुख श्यामप्रसाद यादवले बताए । यो ठाउँको ऐतिहासिक नाम लडैया समनपुर रहेको छ । नेपाल–अंग्रेज युद्ध भएको युद्धस्थलमा रहेको किल्ला र युद्धमा प्रयोग भएका हातहतियारहरु अहिले पनि यस ठाउँमा भेटिने गरेकोले पनि यस ठाउँको आफ्नै एतिहासिक विशेषता रहेको उनको भनाई छ ।

सोमबार १ फागुन २०७९ ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया