×

एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भूसालले भने- एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहे

images

काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।

भुसालले ओलीमाथि निर्मम आरोप लगाए । भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रुपमा ग्रहण गरेको बताए ।

ओलीबारे टिप्पणी गर्दै भुसालले भने- ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । त्यहाँ एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।

‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको उनको भनाइ छ ।

पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताए । ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ । यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु’, उनले भने, ‘यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ ।’

उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाए । ‘सौराहा काण्डका नेताहरू जनताको बहुदलीय जनवादी भएपछि त्यहाँ फस्यो । व्यवहारिक रूपमा भन्ने हो भने एकातिर हलो र अर्कोतिर घण्टी राखेर बालकोटबाट शासन चलाउने व्यवहार भइरहेको छ’, भुसालको भनाइ छ । उनले अहिले पनि एमालेले संसद्मा राम्रो भोट पायो भने फेरि संसद् विघटन गर्छ भनेर संसदमै देखिएको भन्दै माओवादी पनि हिजोकै अवस्थामा फर्किएको आरोप लगाए ।

भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको बताए ।


 

शुक्रबार​ २९ पुस २०७९ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया