×

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, आजै चुनाव चिह्न वितरण

images

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।  निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रतिनिधि सभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ।

प्रदेशसभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेवारी परेको छ। सत्ता गठबन्धनले आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको छ। तोकिएको समयभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । 

बुधबार २६ असोज २०७९ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया