×

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

images

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि राजधानीमा सुरु भएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आज आयोजित एक कार्यक्रममा उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो ।

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताउनुभयो । उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्च पास्ट गरेका थिए । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स सङ्घले व्यवस्थापन गरेको ‘बी बोयिङ’ मनमोहक थियो ।

ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएका थिइन् । पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड खेलकुदको उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको हो । 

निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गर्नुभयो । विभिन्न छ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेशबाहेक पाँच प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५०० खेलाडी सहभागी छन् । 

 एथलेटिक्समा २६, करातेमा आठ, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशि रु नौ लाख ४५ हजार रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । 

मङ्गलबार २८ असार २०७९ ११:३८ PM मा प्रकाशित

प्रतिक्रिया