×

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ : वनमन्त्री यादव

images

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताउनुभएको छ ।
आज कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित शुक्लाफाँटा, जोगबुढा र लालझाँडी कम्प्लेक्समा बाघ गणनाको उद्घाटन समारोहमा मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र र जैविक मार्गमा बन्ने संरचना वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरेर वन्यजन्तु संरक्षणलाई विशेष प्राथमिकतामा राख्न लागिएको जानकारी दिनुभयो ।

उहाँले मुलुकमा बाघ पाइने निकुञ्ज तथा वनलाई तीनवटा कम्प्लेक्समा विभाजन गरेर गत मङ्सिर १९ गते चितवनबाट गणना थालिएको बताउनुभयो । मुलुकको पर्यटन वन्यजन्तु पर्यटनमा केन्द्रित रहेको हुँदा आगामी दिनमा बाघको बासस्थानको गुणस्तरमा सुधार, निकुञ्ज बाहिर रहेका बाघको बासस्थान अतिक्रमणबाट जोगाउनेमा जोड दिइएको बताउनुभयो ।

“बाघ, गैँडा, हात्तीलगायतका महत्वपूर्ण वन्यजन्तुको विचरण तथा आनाबानीमा असर नपर्ने गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने र सरोकारवालबीच समन्वयलाई प्रभावकारी बनाइने बताउनुभयो । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य यस सर्वेक्षणले  यकिन गर्ने बताउनुभयो ।

“मानव र बाघबीचको सदयौँदेखि अन्तरसम्बन्ध रहँदै आएको छ”, मन्त्री यादवले भन्नुभयो, “बाघको सांस्कृतिक महत्वसमेत छ ।” प्रकृतिको बरदानका रूपमा रहेको बाघ मानवीय क्रियाकलापबाट लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

“बासस्थान मासिनु, आहारा प्रजातिको कमी र चोरी शिकारी बाघ संरक्षणका मुख्य चुनौती हुन्”, उहाँले भन्नुभयो, “बाघको बासस्थानमा भौतिक संरचना निर्माणकार्यले थप चुनौती थपिएको छ ।” बाघ संरक्षण कार्ययोजना तयार गरी बाघ संरक्षण एकीकृत एवं व्यवस्थित गरिँदै लगेको मन्त्री यादवको भनाइ थियो ।

पर्यापयर्टनसित प्रत्यक्षरूपमा जोडिएको बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई धेरैभन्दा धेरै समुदायमा पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्न मन्त्री यादवले निर्देशन दिनुभयो । आफू वन मन्त्रालयको कार्यभार सम्हालेपछि वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, नदीजन्य पदार्थको दोहनमाथि नियमन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत वन्यजन्तुको बासस्थान संरक्षण तथा व्यवस्थापनका कार्यमा जोड दिएको बताउनुभयो ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताउनुभयो । उहाँले गणनामा ५२० वटा स्वचालित क्यामेरा जडान गरिनुका साथै ७० प्राविधिकसहितको कर्मचारी टोली परिचालित हुने बताउनुभयो ।

शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने प्रमुख संरक्षण अधिकृत मेहताले बताउनुभयो । राष्ट्रिय बाघ गणनाअन्तर्गत यहाँ हुन लागेको गणना उद्घाटन समारोहमा मन्त्री यादवसँगै वन मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेललगायतका व्यक्तिको सहभागिता थियो ।

 

शनिबार २९ माघ २०७८ ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया