×

ठडिए महलजस्तै विद्यालय

images

सिन्धुपाल्चोक । २०७२ वैशाखको भूकम्पले जिल्लाभरका ५ सय ४७ मध्ये ५ सय विद्यालयका ३ हजार ६ सय २० कक्षाकोठा र भवन ध्वस्त बने । केही विद्यालयको जमिन पहिरोसँगै भास्सियो । ३ नगरपालिका र ९ गाउँपालिकाका सयौं बालबालिका चिसोबीच कठ्यांग्रिँदै जस्तापाताकै टहरामा पढ्न बाध्य बने । भूकम्प गएको ६ वर्षमा जिल्लाका दुर्गमदेखि सुगम क्षेत्रमा पनि महलजस्तै विद्यालय भवन ठडिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्ण सुवेदीका अनुसार अहिलेसम्म ४ वटाबाहेक अन्य सबै विद्यालयका भवन बनिसकेका छन् । सुनकोसी गाउँपालिका–१ ठोकर्पा धारापानीमा जापान सरकारको आर्थिक सहयोगमा चाइल्ड फन्ड जापान र टुकी संघ सुनकोसीले रक्तकाली आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरिदिएको छ । वरिपरि फलामे बार, फराकिलो आँगन, बालमैत्री कक्षाकोठा, सुविधाजनक टेबलकुर्सी र आकर्षक रंगरोगन । २ करोड ३४ लाख लागतमा भूकम्प प्रतिरोधी भवन बनेपछि यहाँ अध्ययनरत ६० बालबालिका रमाएको प्रधानाध्यापक सानुकाजी अधिकारीले बताए । टाटा ट्रस्ट र सिप्रदियन सहायता संस्थाको ३ करोड ९७ लाख सहयोगमा बलेफी गाउँपालिका–६ मा पनि महलजस्तै भवन बनेपछि कुपकन्या माविको चमक फेरिएको छ । सुनकोसी–४ यमुनाडाँडामा बनेको गणेश माविको भवन पनि त्यहाँ पुग्ने सबैजसोको आँखामा पर्छ । छाया नेपालले ८४ लाख खर्चेर उक्त भवन बनाइदिएको हो ।

‘गाउँमै महलजस्तै विद्यालय ठडिए,’ सुवेदीले भने, ‘विद्यालय पुनर्निर्माण सकिने चरणमा छ । भत्किएका अधिकांश भवन बनिसके । ४ विद्यालयको निर्माण राजदूतावासको बेवास्ता र बालबालिका न्यून हुँदा अड्किएको छ ।’

 

शनिबार २९ माघ २०७८ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया