×

‘हिमालयको रहस्य २०८०’ चित्रकला प्रदर्शनी हुने

images


काठमाडौँ, २७ पुस : जलवायु परिवर्तन, कार्बन उत्सर्जन, औद्योगिकरणलगायतका कारण हिमालय क्षेत्र प्रभावित भइरहेको अवस्थामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विश्व समुदायलाई सचेत गराउने उद्देश्यले ‘हिमालयको रहस्य २०८०’ कला प्रदर्शनी आयोजना गर्ने भएको छ । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ओजन तहमा असर पर्दा हिमाली क्षेत्र दूषित भएकाले सो सम्बन्धमा कलामार्फत सचेत गराउन कला प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कलामार्फत जनजागरण ल्याउने उद्देश्यले पहिलोपटक हिमाल केन्द्रित चित्र सिर्जना गर्न लागिएको बताउनुभयो । 

कलाकारलाई आगामी माघ ५ गतेभित्र प्रदर्शनीमा सहभागिताका लागि आफ्ना सिर्जना बुझाउन आह्वान गरिएको र माघभित्रै ती चित्रकला प्रदर्शनी गरिने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले बताउनुभयो । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले केहीअघिको नेपाल भ्रमणका क्रममा हिमाल हेरेर चिन्ता प्रकट गर्नुभएको थियो । साथै दुबईमा सम्पन्न कोप–२८ मा नेपालको मुख्य प्राथमिकताको विषय नै हिमाल जोगाउनुपर्नेमा थियो । 

थुम्केलीले कलाका माध्यामबाट हिमाल बचाउनका लागि आह्वान गर्न खोजिएको बताउनुभयो । यसले एकातर्फ पर्यटक पनि आकर्षित हुने र संरक्षणमा पनि टेवा पुग्ने प्रतिष्ठानले विश्वास लिएको छ । 

शुक्रबार​ २७ पुस २०८० ०६:४६ PM मा प्रकाशित

प्रतिक्रिया