×

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिन्छ: प्रचण्ड

images

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधरले जित्नुपर्ने बताए ।

साथै प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्। ‘नेपाली कांग्रेस र माओवादी मिल्दा मात्रै मिल्नुको अर्थ हुन्छ। परिणाम राम्रो आउँछ। विकास निर्माण र समृद्धिलाई गति दिन सकिन्छ,’ प्रचण्डले भने। गोरखाबाट राष्ट्र निर्माणको नयाँ थालनी गर्न आफू गोरखा आएको भन्दै राष्ट्रिय एकताका साथै विकास र सम्बृद्धिको भुमिका पनि गोरखाले खेल्नेमा आफू विश्वस्त रहेको बताए । 

‘मंसिर ४ गते जनमत संग्रह हुदैछ । एकथरी मान्छेहरु अर्को गठबन्धन बनाएर राजालाई फेरि फिर्ता ल्याउनुपर्छ भन्नेपनि छन्’, अध्यक्ष प्रचण्डले भने, ‘हामी यो संविधानको रक्षा गरेर अघि बढ्ने पक्षमा छौ । राष्ट्रलाई अघि बढाउन चाहने, शान्तिलाई अघि बढाउन चाहने,विकास र सम्मृद्धितिर देशको नेतृत्व गर्न चाहनेहरुको गठबन्धन छ भने अर्कातिर यसलाई उल्ट्याउन चाहनेको छ  । देशलाई फेरि अराजकता, निरंकुशता, सामन्तवाद र अध्यारोतिर लैजानेको बीचमा जनमत संग्रह हुँदैछ ।’

उनले अहिले लोकतन्त्र, शान्ति र संविधान जोगाउन यो पनि गठबन्धनलाई विजयी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।  पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखा जिल्लाबाट राजनीतिक दलहरुबीचको एकता सुदृढ छ भनेर सावित गर्नुपर्नेमा पनि जोड दिए । ‘दलहरुको बीचमा कटुता होइन,सहमति, सहकार्य र एकता अगाडी बढ्दैछ । हिजो गिरिजाप्रसाद कोइरालाले पटक पटक सहमति, सहकार्य र एकता यही शव्द भन्ने गर्नुहुन्थ्यो । मैले पनि यही कुरा भन्ने गरेको छु, त्यो गठबन्धन लोकतन्त्र, विकास र सम्बृद्धिको लागि त्यो आवश्यकता हो’, प्रचण्डको भनाइ छ ।  प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए ।

‘गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुंगो लगाउने अवसर यो हो,’ प्रचण्डले भने, ‘सबै पीडितहरूलाई परिपूरण भनेकोआर्थिक सहयोग दिने, परिवारको भरणपोषण, रोजगारी, शिक्षा दिक्षा दिने उनीहरूका नाममा विभिन्न स्थानमा स्तम्भहरू राज्यले नै बनाइदिने पार्कहरू राज्यले नै बनाउने भन्ने नीति पास भइसकेको छ । तपाईंहरूको पूरा सहयोग भयो भने यो कुरा फत्ते गर्न पनि ठूलो शक्ति प्राप्त हुन्छ ।’ 

उनले गोरखा जिल्लाले देशैभरीबाट देख्ने गरी जित्नुपर्ने र रेकर्ड बनाउनुपर्ने पनि बताए ।  ‘सरदरभन्दा माथि ठुलो उचाइमा आयो गोरखामा भन्नेगरी जित्नुपर्छ । त्यसका लागि राजनीतिक दल र जनताबीचको आपसी सहमति चाहिन्छ । संसारले पनि गोरखाले फेरि अर्को इतिहास बनायो भन्ने देखिनुपर्यो’, सम्बोधनका क्रममा प्रचण्डले भने, ‘गोरखामा लोकतन्त्र र निर्वाचन परिणाम पनि संसारले देखोस् ।’

संविधानको रक्षा गर्ने र उपलब्धीको रक्षा गर्नेहरू एकातर्फ र त्यसलाई उल्ट्याउन चाहनेहरूले अर्कातर्फ उभिएको बताउँदै प्रचण्डले संविधानको रक्षाका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

शुक्रबार​ २५ कात्तिक २०७९ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया