×

रविमाथि प्रश्न उठाएर संसदीय छानबिन माग्नु राजनीति पूर्वाग्रह : प्रधानमन्त्री

images

मोरङ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् । साथै  प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको गतिरोध चाँडै अन्त्य हुने बताए । विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले गतिरोध समाधानका लागि राजनीतिक राजनीतिक तहमा संवाद थालिएको जानकारी गराए ।

विराटनगरमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ।’ 

उनले भने रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई  कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो । 

छानबिन गर्ने संस्थाले नै सहकारी ठगीमा रविको संलग्नता छैन भनेकोले फेरि समिति बनाएर के छानबिन गर्ने ? भन्दै उनले प्रश्न पनि गरे । 

रवि लामिछानेको केस अलग र सहकारी समस्या समाधानको विषय अलग गरेर अघि बढ्यो भने समाधान निस्कन सक्नेतर्फ उनले सङ्केत गरे । साथै सदनको अवरोध खोल्ने काममा सरकारसँगै सभामुख पनि सचेत रहेकोले राजनीतिक समझदारीबाटै यसको समाधान खोजिने प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेको विषयमा अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने उल्लेख गरेका छन् ।

‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिएँ । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।’

बिहीबार २९ चैत २०८० ११:२० AM मा प्रकाशित

प्रतिक्रिया