×

स्थानीय निर्वाचन : उम्मेदवार छनोट गर्दै दल

images

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । 

जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले छ पालिकामा अध्यक्ष एवं प्रमुखको उम्मेदवार छनोट गरेका छन् । कुनै पनि पालिकामा कुनै पनि पार्टीले उपाध्यक्षको उम्मेदवार भने छनोट गरेका छैनन् । 

जिल्लामा सबैभन्दा पहिले नेकपा (माओवादी केन्द्र) ले चन्द्रकोट गाउँपालिकामा अध्यक्षको उम्मेदवार छनोट गरेको थियो । पार्टीले प्रदेश कमिटी सदस्य युवराज केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । गठबन्धनबाट पालिका उपाध्यक्षमा कांग्रेसको उम्मेदवार हुने भनिए पनि कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छैन । 

धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरेलको नेतृत्वमा भएको जनप्रिय कामले गर्दा उहाँलाई नै अध्यक्षको उम्मेदवार बनाइएको गाउँ कमिटी अध्यक्ष गोपाल कुँवरले जानकारी दिनुभयो । धुर्कोटमा अझैसम्म पनि गठबन्धनको टुङ्गो नलाग्दा माओवादीले अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । 

मुसिकोट नगरपालिकामा नेकपा ९एमाले०ले जीवन खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीभित्र योगदानका आधारमा सर्वसम्मत नगरप्रमुख पदको उम्मेदवार बनाइएको पार्टीका पालिका अध्यक्ष प्रकाश काफ्लेले बताउनुभयो । मुसिकोटमै कांग्रेसका तर्फबाट हरिनारायण सापकोटालाई नगरप्रमुखको उम्मेदवार बनाइएको छ । सापकोटा पार्टीका पूर्वजिल्ला सचिव हुनुहुन्छ । कांग्रेसले आइतबार सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाएको हो । माओवादी केन्द्रले भने नगरप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छैन । कालीगण्डकी गाउँपालिकामा एमालेले रामजी ढकाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल हाल पार्टीको गाउँ कमिटी अध्यक्ष हुनुहुन्छ । 

जिल्लामा सबैभन्दा बढी एमालेले वडाध्यक्षका उम्मेदवार टुङ्गाएको छ । जिल्ला सचिव गणेश श्रीपालीका अनुसार हालसम्म २५ वडामा वडाध्यक्षको उम्मेदवारको टुङ्गो लगाइएको छ । एमालेले धुर्कोट गाउँपालिका–३ हाडहाडेमा विष्णुबहादुर श्रीस र वडा नं ६ रजस्थलमा कृष्ण नेपालीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । उनीहरु दुवै वडाध्यक्ष छन् । कांग्रेसले पनि हालसम्म १५ वडामा वडाध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ । मुसिकोट र रेसुङ्गा नगरपालिका, धुर्कोट लगायतका पालिकाका केही वडामा वडाध्यक्षको उम्मेदवारको छनोट गरिसकेको छ ।

माओवादी केन्द्रमा धुर्कोट, चन्द्रकोट र मालिकाबाहेक अन्य पालिकामा अध्यक्षका उम्मेदवार घोषणा भएका छैनन् । रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवालीलाई अध्यक्षको उम्मेदवार बनाउने भने पनि अहिलेसम्म औपचारिकता प्रदान गरिएको छैन । पार्टीले हालसम्म जिल्लाका कुनै पनि वडामा वडाध्यक्षको छनोट गरेको छैन । सबै वडामा उम्मेदवार तयारी अवस्थामा राखिएकाले केही दिनभित्रै घोषणा गर्ने जिल्ला संयोजक बुद्धि जिसीले बताउनुभयो । जिल्लाको रेसुङ्गा, मदाने, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र र सत्यवती गाउँपालिकाका लागि कुनै पनि दलले अध्यक्ष पदको उम्मेदवार टुङ्गाएका छैनन् । 

पालिकामा गठबन्धन

जिल्लाको मालिका गाउँपालिकामा पाँच दलीय गठबन्धन भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसले उम्मेदवार बनाउने गरी चुनावी तालमेल गरिएको छ । अध्यक्षमा माओवादीका तर्फबाट देवीराम अर्याल उम्मेदवार हुनुहुन्छ । उपाध्यक्षमा कांग्रेसले उम्मेदवार छनोट गरिसकेको छैन । कूल आठ वडा रहेको मालिकामा वडा नं ३ ह्वाङ्दी र वडा नं ८ मर्भुङ्गमा माओवादी र अन्य छ वडामा कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस मालिकाका सभापति उपेन्द्र अर्यालले जानकारी दिनुभयो । 

त्यस्तै नेकपा ९एकीकृत समाजवादी०लाई केही वडा सदस्यमा उम्मेदवारी दिनेगरी सहमति भएको अर्यालले बताउनुभयो । ह्वाङ्दीमा अर्जुन बुढा मगर र मर्भुङ्गमा सूर्यबहादुर जिसी वडाध्यक्षका उम्मेदवार छनोट भएका छन् । कांग्रेसको भागमा परेका वडाध्यक्षका उम्मेदवार पनि केही दिनमै टुङ्गो लगाइने सभापति अर्यालको भनाइ छ ।

सोमबार २८ चैत २०७८ १२:४१ PM मा प्रकाशित

प्रतिक्रिया