×

अघिल्लो चुनावको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ - अध्यक्ष नेपाल

images

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको पालिका चुनावमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठनले आज पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको पालिका चुनावमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको पालिका चुनावले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि त्यहीअनुसार सहमति हुने बताउनुभयो । 

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आउँदो चुनावले त्यसको पुष्टि गर्ने उहाँको भनाइ छ । एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउने क्रम तीव्र रहेका कारण आउँदो चुनावले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ । अहिले गठबन्धनमा पछि उम्मेदवार कसरी टुङ्ग्याउने भन्ने तरिकाका बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । 

अध्यक्ष नेपालले उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै पालिका, प्रदेश र प्रतिनिधि सभाको चुनावसम्मै गठबन्धन कायम रहने जिकिर गर्नुभयो । 

‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि साझा उम्मेदवार कायम गरिन्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ, ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।’  

नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उहाँको सुझाव छ ।  

सोमबार २८ चैत २०७८ ०२:१२ PM मा प्रकाशित

प्रतिक्रिया