×

अर्थतन्त्र सुधार हुँदै गएको छ : प्रधानमन्त्री दाहाल

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका सूचक सकारात्मकतर्फ अघि बढेको बताएका छन्। उनले वैदेशिक सञ्चिति बढ्दा ११ महिनाको आयात धान्नसक्ने अवस्था रहेको बताएका हुन्। प्रधानमन्त्री भए लगत्तैदेखि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएकाे प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए ।  प्रचण्डले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि बताए ।

उनले सरकारले राजश्व सङ्कलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताए। प्रधानमन्त्री दाहालले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चित उत्साहजनक हुँदै गएको बताए ।  झन्डै ११ महिना पुग्ने विदेशी सञ्चित अहिले देशसँग रहेको बताए । साथै प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् ।  

उनले निजी क्षेत्रसँगै अर्थ मन्त्रालय, राष्ट्र बैंकबीच छलफल गरी तरलताको समस्या, राजस्वको समस्या र रेमिट्यान्स सुधार गर्ने विषयमा केन्द्रत भएको बताए।  रेमिट्यान्स बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताउँदै राजस्व र बैंकका समस्या पनि समाधान हुँदै जाने आशा गरे। लगानीकाे वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि उनले बताए ।

‘बाह्य कारणबाट अर्थतन्त्रकाे आन्तरिक अवस्था केही समस्या परेकाे थियाे । अब हामी सहज अवस्थातर्फ जाँदै छाैं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बैंकको ब्याजदर घटाएर लगानीको मनाेबल बढाउन, पूँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेका छन् ।’ 

अहिलेको अर्थतन्त्र अप्ठ्यारो पर्नुमा ४ कारण रहेको बताएका छन्। उनले भूकम्प, कोभिड महामारी, रुस–युक्रेन युद्ध र अस्थिर सरकारको कारण अर्थतन्त्र अप्ठ्यारोमा परेको बताए।  

मङ्गलबार २८ चैत २०७९ ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया