×

लक्ष्मीपूजा कुन दिन गर्ने भन्ने अन्योलता कायमै रहने भए....

images

गत श्रावणमा गाइजात्रा तीन शहरमा तीनथरि ढंगले मनाएरै देखाए । त्यस्तै गरी अब तिहार आउने बेलामा फेरि लक्ष्मीपूजा कुन दिन गर्ने त भन्नेमा विवाद र  अन्योलता आउने नै छ भनेर ‘घडिपला हरेर चाडवाड मनाउने कुरा हाम्रो परम्परामा छैन’ शीर्षकको यो लेखमा लेखेको थिएँ । योभन्दा नभन्दै मसी सुकेको छैन । अब तिहारमा कोही कुकुर तिहार कै दिन लक्ष्मीपूजा गर्नुपर्छ भन्नेहरू देखापरे भने कोही गाईतिहार कै दिन लक्ष्मीपूजा गर्नुपर्छ भन्ने देखा परे ।  यसमा संस्कृति संस्कार शास्त्रले कतातिर जोडदिन्छ भन्ने मै अन्योल भइदिँदा यो समस्या आएको हो भन्ने लागेको छ । 

रेडियो टेलिभिजन खोलेर हेर्ने हो भने तिहारको दिन भैलो खेल्ने गीतमा यस्तो भाकामा गीत गाइन्छ जस्तै :

भैलिनी आइन आगन गुनियो चोलो मागन
हे ! औँसीको बारो गाईतिहारो भैलो
हरियो गोबरले लिपेको लक्ष्मीपूजा गरेको
हे ! औँसीको बारोगाइ तिहारो भैलो
हामी तसैँ आएनौँ बलिराजाले पठाको
हे ! औँसीको बारो गाईतिहारो भैलो

यसरी भैली गीत गाउनु संस्कृतिको एउटा अंग हो । तर, यसपाली पनि कुकुर तिहार कै दिन लक्ष्मी पूजा गराउने भएपछि भैलो गीतको यो संस्कृतिको के अर्थ भन्ने प्रश्न उठ्छ । किनकि गाईतिहार भने भोलि पल्ट गर्ने लक्ष्मीपूजा अघिल्लो दिन नै मनाएपछि हे औँसीको बारो को के अर्थ र गाईतिहारो को के अर्थ ? किनकि कात्तिक २६ गते कुकुर तिहारको दिन लक्ष्मीपूजा र कार्तिक २७ गते गाईपूजा भनेर पंचांग पात्रोमा दिइएपछि संस्कृति र संस्कार एकातिर लक्ष्मीपूजा अर्कोतिर हुनजाने स्पष्ट देखियो । 

फेरि औँसीको बारो भनेको के ? अंग्रेजी क्यालेण्डर अनुसार सातवटा बार आइतबार सोमबार भनेको रातको १२ बजे फेरिन्छ भने औँसीको बार त बिहान सूर्योदय सँगसँगै फेरिने हो । बेलुकाको औँसी र रातिको औँसी हेरेर बार फेरिने होइन । हे ! औंसीको बारो भन्नाले बिहान एउटा बार बेलुका अर्को बार भन्ने संस्कृति र संस्कार कही पनि पाइँदैन । 

कुकुर तिहारको दिनमा लक्ष्मीपूजा गर्ने भएपछि हे ! औंसीको बारो कुकुर तिहार भैलो नभनी गाईतिहारो भैलौ भन्ने पनि संगति कतै मिलेको देखिएन ।

माघ महात्म्य स्वस्थानीको पीठ उत्पत्तिको अध्यायमा यसरी उल्लेख छ । जस्तै :

मन्दराचलमा दाहिने तिघ्रापतन भयो, महिन्द्र पीठ इन्द्राक्षीदेवी उध्र्व गमना योगिनी तारकेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरुपले रहे ।  त्यस सुरम्य भूमिमा गइ भक्तिपूर्वक लक्ष्मीले सेवा गरिन्, ईश्वरी प्रशन्न भएर कात्तिक औँसीको दिन सबैले तिम्रो पूजा गरून् भन्ने बरदान दिइन् ।  

माघ महात्म्य स्कण्ड पुराण श्री स्वस्थानीको महिमा वाचन हामी वर्षैपिच्छे गर्दै आएका छौं । यसरी स्वस्थानी वाचन गर्नेहरू नै कुकुर तिहारको दिन लक्ष्मीपूजा गर्नुपर्दछ भन्ने कुरा प्रचार गर्नु कम आश्चर्यको विषय छैन ।  यो केवल वाचन मात्र गर्ने यसबाट कुनै शिक्षा लिनु नपर्ने भए वाचन गरेको के अर्थ ? भन्ने प्रश्न उठ्छ । फेरि १२ वर्ष रामायण पढ्यो राम को हो, सीता को हो ? थाहा छैन भने रामायण पढ्नुको के अर्थ भनेझैँ स्वस्थानी वाचन गरेको सुनेको र वर्षैपिच्छे भैली गीत सुन्नु सुनाउनुको केही मतलब नहुनु भनेको राम्रो कुरा अवश्य होइन । श्री स्वस्थानीमा कार्तिक औँसीको दिन सबैले लक्ष्मीपूजा गरून् भनेको के हो ? कुकुर तिहारको दिन औँसी त होइन । फेरि स्वस्थानीमा औँसीको दिन नै भनेको छ औँसीको रातमा पूजा गरून् भनेको छैन । 

यसरी कुकुर तिहारको दिन नै लक्ष्मीपूजा गर्नुपर्छ भन्ने कुन शास्त्रमा छ ? कहीं पनि छैन  के उनीहरूको अभिष्ट सिद्ध गर्ने मात्र शास्त्र अरू शास्त्र होइन । यदि स्कण्डपुराण शास्त्र नै होइन भने माघमा उनीहरू किन वाचन गर्छन् ? जव शास्त्रको कुनै मतलव नै राख्दैन भने स्वस्थानी वाचन पनि बिरालो बाँधी सराद्धे भने जस्तै मात्र हुनेभयो । 

अब कुरा आयो धर्मसिन्धु भनेको के हो ? र  निर्णयसिन्धु भनेको के हो ? यो पनि कुन ठाउँमा आकर्षित हुने कुन ठाउँमा नहुने भन्ने त छ ? हामीले भिटामिनको औषधी हो भन्दैमा जोसुकैले जुनसुकै बेलामा जतिसुकै मात्रामा खाए हुन्छ भनेर कुनै पनि डाक्टरले सिफारिस गर्दैन । यसको मतलब हरेक कुराको भाँती हुन्छ । 

त्यसैले धर्मसिन्धु निर्णयसिन्धु पनि कस्तोमा आकर्षित हुन्छ, कस्तो परिस्थितिमा आकर्षित हुँदैन भनेर दिइएको हुन्छ । चाडबाड मनाउँदा धर्मसिन्धु निर्णयसिन्धु आकर्षित हुँदैन मात्र भनेको हो । यो कामै लाग्दैन कसैले भनेको छैन । यदि कुनै अनुष्ठानको कुरा वा होम गर्ने कुरा वा व्रत बस्ने कुरा भएमा धर्मसिन्धु निर्णयसिन्धु अवश्य आकर्षित हुन्छ । लक्ष्मीको व्रत बस्नेले  दिनभरि निराहार बसेर बेलुका लक्ष्मीपूजा उपासना सकेपछि मात्र भोजन गर्नेहरूको लागि रातिको औँसी चाहियो । चाडवाडको रूपमा लक्ष्मीपूजा गर्नेहरू कोही पनि व्रत बस्नु पर्दैन । त्यसमाथि नेवार समुदायमा कुनै पनि चाडबाड व्रत बस्नुपर्ने चाडवाड छैन । त्यसकारण सूर्योदय हुँदा औँसी लागेको भएपछि राति औँसी नभए पनि कुनै दोष लाग्दैन । त्यसैले बिहान स्थान गणेशमा गएर पूजा गरेपछि कुनै दोष नहुने र बिहान गाईपूजा गरेर बेलुका लक्ष्मीपूजा गर्ने संस्कृति र संस्कार परापूर्व कालदेखि चल्दै आएको हो । 

धर्मसिन्धु निर्णयसिन्धु भन्ने कुरा केही वर्षअघि मात्र आविष्कार भएको शास्त्र होइन । हाम्रा पूर्वजहरूलाई यो शास्त्र बारे राम्रो ज्ञान छ, नभएको होइन । मानौं कि कुकुर तिहारको दिन लक्ष्मीपूजा गर्नु नै श्रेष्ठ भन्नेहरूले मात्र धर्मसिन्धु निर्णयसिन्धु जानेको जस्तो कुरा गरेको देखियो ।  वास्तवमा उनीहरू बेग्लै दुनियाँमा रमाइरहेको हुँदा अहिले भ्रम व्याप्त भइ रहेको हो । यो भ्रम अहिले कहिल्यै निको नहुने रोगको रूपमा रही आएको छ । त्यही भएर तीन शहरमा तीन थरि ढंगले चाड मनाउने प्रचलन केही वर्षयता तीव्रको रूपले बढ्दै आएको छ ।

चाडबाडको अर्थ र महत्व 

हाम्रा पूर्वजहरू अति दूरदर्शी थिए । त्यतिमात्र होइन आफना दिव्य ज्ञानको आधारमा त्रिकालदर्शी भएर सोच्न सक्थे । उनीहरू आफनो पूर्व जन्ममा के थियौं ? अहिले कस्तो छु ? भविष्यमा मरनोपरान्त के हुने हो ? भन्ने समेत थाहा पाउँथे । त्यही भएर फेरि पुनर्जन्म हुँदा आफनै कूलमा जन्म लिन के गर्नुपर्दछ भनी सोच विचार गरी देवताहरूसित दोहोरा संवाद गरी एउटा अति उत्तम उपाय पत्ता लगाए । त्यो उपाय भनेको चाडबाड हो  । ती पूर्वजहरूले आफना सन्ततिलाई सिकाए कि वर्ष भरिका सबै आफना कूल परम्परा अनुसार विधिसम्मत ढंगले एउटा पनि नछुटाईकन चाडवाड हर्षोल्लासका साथ मनाए भने बाँचुन्जेल सुखी भइ मरनोपरान्त आफनै कूलमा जन्म लिन पाउने हुनाले यसरी कुमालको चक्रझैँ जीवन मरण घुमीरहने प्रक्रिया भनेर सिकाएर गएका हुन् । त्यही भएर पूर्खाले सिकाए अनुरूप हामी अहिलेसम्म चाडवाड खुसीसाथ मनाउँदै आएका हौँ ।

त्यही भएर चाडवाड भनेको व्यक्तिव्यक्ति परिवारपरिवार समाजसमाजबीच एक आपसमा सौहार्द भाव बढाइ एकै दिन एकै किसिमले मनाउँदै आएको हो । चाडवाड भनेको समाज समाजबीचको समन्वयको बातावरणमा सद्भाव बढाएर बस्न प्रेरित गर्ने एउटा बेजोड माध्यम बनेको छ । यसरी वर्षै भरि एकपछि अर्को चाडबाड आइरहने  हुँदा जनजीवन हर्षोल्लासमै समय बितिरहने भएर दिन व्यतित गर्न सजिलो भएको छ । चाडवाडको कारणले हामीले उराठ लाग्दो समय बिताउन परेको छैन । यस्तो चाडवाड नभइदिएको भए समय बिताउन अति कष्टकर हुने थियो भन्ने आभाष हामी महसुस गर्दछौँ । त्यही भएर चाडवाडको अर्थ र महत्व भावि पिढीलाई सिकाएर छोडेनौँ भने अनेकौँ भ्रमहरूले पेलेर ल्याएपछि उनीहरूले बिस्तारै छोड्न थाल्ने हुन्छ । तब हामीले चाडवाडको निरन्तरता दिए जस्तै भावि पुस्ताले गरेन भने उनीहरू चौरासी लाख जुनीको भुमरीमा परे भने कूल नाश भएर जाने भएकोले चाडबाड मनाउन हामी कुनै किसिमको हिच्कीचाहत नगरीकनै मनाउने आदत अग्रज पुस्ताले बसालिदिएको छ । हामीले पनि आफना छोरा–नाति–नातिनीलाई यही कुरा सिकाउन जरुरी छ  । त्यतिमात्र होइन तिमीभन्दा म के कमको भावना छोडेर एकै मितिमा एकै ढंगले मनाएर जाने बातावरण बनाउन जरुरी भै सकेको छ ।

यमपञ्चक र लक्ष्मीपूजाको अर्थ र महत्व

पंचक हेर्ने कुरा ज्योतिष विषयमा अति गम्भीर विषय मानिएको छ । कोही मान्छे मृत्यु भएमा लासलाई डाहसंस्कार गर्नुअघि पञ्चक हेर्न जरुरी छ भनी देखाउने चलन छ । यसमा कसैले हेलचेक्र्याईं गरिएमा परिवारका अरू सदस्य लगालग ५ जनासम्म एउटै वर्षमा मृत्यु हुन सक्छ भन्ने विश्वास लिईआएको छ । त्यस्तै गरि यमपंचक पनि बडो संवेदनशील विषय हो । यसलाई जथाभावि गर्न हुँदैन भन्ने विश्वास रही आएको छ । प्रचलित किंवदन्तीअनुसार यमदूत र यमराज नै घुम्न आउने पर्व यमपञ्चक भन्ने चलन छ । यमपञ्चकको पहिलो दिन कागतिहार हो । कागतिहार किन मनाइयो भन्ने विषयमा काग पनि यमदूतको रूप हो । मृत्यु संस्कारमा काकवली दिने चलन छ । त्यस्तै गरी कुकुर पनि यमदूतको अर्को रूप हो । मृत्यु संस्कारमा स्वानवली भनी कुकुरलाई पहिले भाग राखी दिन चलन छ । लक्ष्मीपूजामा सात्विक भोजन चल्ने लक्ष्मीभन्दा पनि मांसाहारी भोजन चलने लक्ष्मीलाई पूजा गर्ने चलन छ । भनिन्छ– ‘यो लक्ष्मी यमलोकमा यमराजका दरवारमा अधिष्ठात्री भएका लक्ष्मीपूजा गर्नुपर्ने भएकोले गाईमार्फत लक्ष्मीलाई बोलाउन निमन्त्रणा पठाउनुपर्ने भएको हुनाले गाईलाई पहिले पूजा गरेरमात्र लक्ष्मी पूजागर्ने चलन रहेको विश्वास रही आएको छ ।’ यहाँ बिरालो बाँधी सराद्धे भनेझैँ कुकुर तिहारको दिन कुकुरपूजा गरी सकेपछि गाईलाई पनि पूजा गरेर बेलुका लक्ष्मीपूजा गर्नेहरू पनि देखापरेका छन् । जसको कुनै आपत्ति भन्ने नै छैन । 

वास्तवमा गाईतिहार औँसीको दिन बिहान गाईपूजा गरेर बेलुका लक्ष्मीपूजा गर्ने कुरालाई अनर्थ ढंगले अर्थ गरेर राति औँसी भएको समय हेरेर लक्ष्मीपूजा गर्नुपर्छ भनी कसैले कुकुरतिहारको दिन लक्ष्मीपूजा गर्ने गरिआएको छ । यो अर्थन बर्थको प्रथाको निरन्तरता यसपाली पनि देखिएको छ । यो हतपत्त समाधान हुने विषय होइन भन्ने देखिएको छ । यस विषयमा बृहत अन्तक्र्रिकयाको आवश्यकता देखा परेको छ । जेहोस् कसैले कुनदिन कसैले कुन दिन लक्ष्मीपूजा गरिनु राम्रो चलन भने बिल्कूल होइन ।  हाम्रा पूर्वजहरूले यो अवस्था नआओस् भनेरै चाडवाडमा घडीपला हेर्नुपर्दैन भनेका हुन् । सूर्याेदय सँगसँगै तिथि जुन उदय हुन्छ अर्को सूर्याेदय नभएसम्म कायम रहन्छ भनी सिकाएर गएको कुरा अब आएर यसको खिल्ली उदाउन  थालेको छ । हाम्रा पूर्वजहरूले भनेर गएका शास्त्र वचनमा यस्तो भनिएको छ :

यां तिथि समनुप्राप्य उदयं याति भास्कर ।सा तिथि सकला ज्ञेया स्नान दानादि कर्मसु ।। 
(जुन तिथि लिएर सूर्य उदय भएको हो त्यही तिथि एक दिनको लागि हुन्छ, उही दिनमा स्नान दान आदि कर्म गर्न हुन्छ ।)

यो शास्त्र वचनलाई काट्ने शास्त्र वचन निर्णय सिन्धुमा छैन । निर्णयसिन्धुको वचन कुन ठाउँमा आकर्षित हुन्छ कुनै अध्ययन नगरी हचुवा मान्यता लादेको जस्तो देखिएको छ । यहाँ  आफूलाई जुन विधि र विधानमा विश्वास छ उही विधानको अनुशरण गर्नु नै सबभन्दा राम्रो उपाय हो भन्नेहरू पनि देखा परेको छ । यदि चाड मनाउने कुरा आ–आफनो इच्छाअनुसार नै गर्ने भए केही भन्नु छैन । तर, शास्त्र मुताविक गर्ने भए शास्त्रविपरीत कृयाकलाप गर्नु पनि त भएन नि !

निष्कर्ष 

निष्कर्षको तवरमा भन्नु पर्दा यहाँ ज्योतिषहरूबीच मत भिन्नता नेै अहिलेको मूल समस्या देखा परेको छ । यसमा ज्योतिष एकापेक्षी भएको होकि भन्ने आभास पनि पाइन्छ । किनकि उनीहरूको सिद्धान्तले संस्कृति संस्कारमा कुनै दख्खल दिन पाइँदैन भन्ने कुरालाई बिर्सेको देखिन्छ ।  किनभने चाडवाड मनाउँदा घडिपला साइतको कुनै दरकार नै छैन । चाडवाडमा सामान्य पूजा मात्र हुन्छ भने विशेष अनुष्ठान होम व्रतको कार्यमा विशेष पूजा हुन्छ । त्यस्तो कार्यमा साइत घडिपलाको जरुरत पर्दछ । सामान्य रुघाखोकी ज्वरमा तातोपानी खाएर पनि निको हुन्छ । जटिल खालको रोग लागेमा अस्पतालमै भर्ना भएर अपरेशन समेत गर्नुपर्ने हुन्छ । त्यस्तो विशेष अवस्थामा विज्ञ डाक्टरको परामर्श जरुरी हुन्छ भनेझैँ सामान्य रुघा खोकी लागेको व्यक्तिलाई अस्पताल भर्ना होउ भनेर सल्लाह दिनुको कुनै जरुरी छैन भने जस्तै चाडवाडमा घडीपला साइत हेरेर गर्न सल्लाह दिनुको कुनै औचित्य छैन । अहिले लक्ष्मीपूजा कुन दिन गर्ने भन्ने विषय साइत हेर्ने तहसम्म जानु पर्दैन भन्ने नै लागेको छ । बाँकी आ–आफनो तजबीज । लक्ष्मीले सबैको कल्याण गरून् ।     

-श्यामसुन्दर राजवंशी
 

शुक्रबार​ २४ कात्तिक २०८० ०४:०८ PM मा प्रकाशित

प्रतिक्रिया