×

‘निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार छौँ’

images

पाटन, २४ भदौ : युएई, थाइल्यान्ड र कुवेतका लागि नेपाली राजदूतहरुले निर्यात प्रवर्द्धनका लागि इमानदारीपूर्वक काम गर्ने बताउनुभएको छ । निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा उहाँहरुले सम्बन्धित देशका व्यापार सम्बद्ध सङ्घसंस्थासँग भेटघाट गरेर सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । 

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले व्यापार प्रवर्द्धनका लागि जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्ने प्रस्ट पार्नुभयो । “व्यापार तथा निर्यात प्रवर्द्धनका लागि व्यवसायीहरु पनि मिलेर काम गर्न सक्ने अवस्था सृजना गर्नुपर्छ । जागरुकतालाई रचनात्मक बनाउनु प¥यो, विश्वमा अलैँची, अदुवा र चिराइतोमा नेपाल उत्कृष्ट छ, बङ्गलादेशमा नेपाली स्ट्राबेरीको बेग्लै बजार छ, नेपाली फुटवेरको राम्रो सम्भावना छ । जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्छौँ ।”, राजदूत ओलीले भन्नुभयो । 

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्ने र व्यापार प्रवर्द्धनका लागि सहजीकरण गर्ने बताउनुभयो । “श्रमसँग र व्यापारसँग सम्बन्धित काम हाम्रो प्राथमिकता हो । नेपालको उत्पादनलाई बिक्री गर्ने प्रमुख काम नै हो । जुन अपेक्षा छ, ती पूरा हुन्छन्, राजदूतावासको रिसेप्सनमा नै नेपाली उत्पादन राखेर प्रवर्द्धन भइरहेको छ । त्यसलाई अझ प्रभावकाकरी बनाउँछौँ”, राजदूत लम्सालले भन्नुभयो । 

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालको व्यापार घाटा ठूलो भएको बताउँदै यसलाई कसरी कम गर्न सकिन्छ भन्ने चुनौती रहेको धारणा राख्नुभयो । “हामीले दिने सेवामा पासपोर्ट, भिजा लगायतका कन्सुलर सेवा त छँदैछ, त्यसका अलावा विभिन्न एक्स्पोमा स्टलहरु निःशुल्क गराउन पहल गर्नेछु । नेपालीलाई विदेशमा मेला पर्वहरु गर्न उत्साहित गर्छौँ, के बेच्न सकिन्छ भनेर लक्ष्य निर्धारण गर्न आग्रह गर्न चाहन्छु”, राजदूत खत्रीले भन्नुभयो । 

उहाँले नेपाली व्यापारीले आग्रह गर्दा जहिले पनि सहजीकरण गर्न तयार हुने बताउनुभयो । उहाँले निर्यात गर्ने उत्पादनलाई प्याकेजिङ र लेबलिङ र ब्रान्डिङमा जोड दिनुपर्ने धारणा राख्नुभयो । निर्यात परिषद्को अध्यक्ष रेशम पोखरेलले युएईका लागि कार्पेट निर्यात गर्न प्रचुर सम्भावना भएको बताउँदै प्रमाणीकरण र निर्यातका लागि दूतावासले पहल गरिदिनुपर्छ भन्ने धारणा राख्नुभयो । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विगत वर्षमा छुर्पी करिब रु तीन अर्बको निर्यात भएको पाइन्छ भन्दै छुर्पीको पेटेन्ट राइट लिनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले जापानमा घ्यू आवश्यक रहेको भन्दै त्यहाँ कसरी पठाउने त भन्ने विषयमा सोच्न सक्दा राम्रो हुने बताउनुभयो । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सरकारले मेला आयोजना गर्न दिने बजेट कम भएको बताउँदै त्यहाँका सङ्घसंस्था र आयोजकसँग सहुलियत स्टल उपलब्ध गराउन पहल गरिदिनुपर्नेमा जोड दिनुभयो  । उहाँले राजदूतहरुले राष्ट्रप्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउँदा हाम्रो देशको ब्रान्ड उत्पादन गिफ्टका रुपमा दिन सक्दा व्यापार प्रवर्द्धनमा राम्रो हुन्छ भन्नेमा जोड दिनुभयो ।

आइतबार​ २४ भदौ २०८० ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया