×

सकियो शीर्ष नेताको छलफल, ओली भन्छन – पार्लियामेन्टमा थाहा हुन्छ

images

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ । संसद् अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच आज सिंहदरबारमा छलफल भएको थियो। छलफल सकारात्मक भएको एमालेका एक नेताले बताए।

संघीय संसद्को अवरोध हटाउन एमाले तयार देखिएको छ। बैठकमा के भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ । प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।

प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ। प्रचण्डले आइतबार आफू सम्बोधन गर्ने र त्यो सम्बोधन सुनेर संसद खुलाउन प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। आजको छलफलमा पनि यस्ता विषयमा विवाद नगरी संसद खुलाउन प्रतिपक्षीलाई प्रधानमन्त्रीले आग्रह गरेका छन्। 

सोमबार २५ असार २०८० ०२:३७ PM मा प्रकाशित

प्रतिक्रिया