×

सिङ्घिया नदीमा भेटियो नयाँ प्रजातिको माछा

images

विराटनगर । विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् ।

झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा ‘एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो ।

अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ असोजसम्म कोशी प्रदेशका दुई जिल्लामा बग्ने पाँच नदीमा अनुसन्धान गरेका हुन् । विराटनगरका अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जिनक्वान याङ र चेनहोङ लीको समूहले सिङ्घियाको तल्लो भाग जहदा पुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुमा नयाँ प्रजातिको माछा फेला परेको दाबी गरेको छ ।

यो माछा नेपालका लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित इन्टरनेसनल जर्नल अफ जुलोजीको २०२३ अप्रिलको अङ्कमा प्रकाशित छ । अनुसन्धानकर्ताहरूका अनुसार एम्ब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एसियातिर विरलै पाइन्छ ।

अनुसन्धानमा संलग्न त्रिभुवन विश्वविद्यालयको जुलोजी विषयका पूर्वसहप्राध्यापक डा। भरतराज सुब्बाका अनुसार सन् २०१६ मा भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीअन्तर्गत अरुणाचल प्रदेशमा पहिलो पटक यो प्रजातिको माछा फेला परेको रेकर्ड गरिएको थियो । यसको सङ्ख्या अति नै कम र जताततै नपाइने भएकाले धेरै विवरण भेटिएको छैन । अनुसन्धान अवधिभरिमा सिङ्घिया नदीमा पनि पाँच–दसवटा मात्र रेकर्ड गरिएको थियो ।

यसको लम्बाइ ४–९ सेन्टिमिटर र तौल ३० ग्रामभन्दा कम हुने भएकाले यो अति नै सानो प्रजाति हो । यसको आनीबानी, आहारबिहार, प्रजनन आदिको गहिराइमा भने अध्ययन नभएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

सोमबार २७ चैत २०७९ ०७:५४ AM मा प्रकाशित

प्रतिक्रिया