×

अदुवा बिक्री नभएपछि सुठो बनाउँदै सल्यानका किसान

images

सल्यान  : अदुवा उत्पादनका हिसाबले सल्यान अग्र स्थानमा आउँछ। बोसे जातको अदुवा सल्यानमा मात्र उत्पादन हुन्छ। नगदेबाली अदुवा वर्षेनी जिल्लामा ठूलो परिमाणमा उत्पादन हुन्छ तर बजार भने पाउन सकेको छैन।

बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ। यो वर्ष पनि अदुवा बिक्री नभएपछि सल्यानका किसान चाना र सुठो बनाउन बाध्य भएका छन्। अदुवा खरिदमा आलटाल भएपछि अदुवा कृषक र व्यवसायी मारमा परेका छन्। अदुवा बिक्री नहुँदा चाना र सुठो बनाइरहेको बागचौर नगरपालिका–२ का सुरेश वलीले बताए।

४० क्विन्टल अदुवा उत्पादन भएपनि बिक्री नभएपछि चाना र सुठो बनाइरहेको उनले बताए। काँचो ७ क्विन्टलको सुकाउँदा १ क्विन्टल मात्र हुने बताउँदै उनले सुठोले पनि राम्रो मूल्य नपाएको बताए। उनले भने, ‘बारीमा कुहाएर फाल्नुभन्दा सुकाएर सुठो बनाइरहेका छौँ। २० रूपैयाँ प्रतिकिलो लैजाउ भन्दा पनि व्यापारीले लिन मान्दैनन्। लगानी नै उठाउन गाह्रो भयो।’ 

पुस अन्तिम सातासम्म बिक्री भइसक्ने अदुवा किन्न कुनै व्यापारी नआएपछि १० रोपनीमा लगाएको अदुवा थन्क्याएर राखेको शारदा नगरपालिका–१४ माल्नेटाका दीपक गिरीले बताए। अदुवाले मूल्य नपाएपछि माल्नेटाका अधिकांश किसानले अदुवा थन्क्याएर राखेको बताए। स्टोर गरेर राखेको भएपनि प्रशोधन केन्द्र नहुँदा कुहिन थालेको उनले बताए। उनले भने, बिक्री हुन्छ कि भन्ने आशामा अहिलेसम्म राखेका छौं अब पनि बिक्री नभए सुठो बनाउने त होला।

जिल्लामा १ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा २९ हजार ६७ मेट्रिकटन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। गत वर्षभन्दा यस वर्ष अदुवा उत्पादन बढे पनि अहिलेसम्म अदुवाको माग नआएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताए।

सल्यानका अधिकांश अदुवा भारत निकासी हुने गरेको र कोरोनाका कारण कुनै पनि व्यापारी अदुवा खरिदका लागि आउन नसकेको उनको भनाइ छ। जिल्लाबाट अहिलेसम्म कुल उत्पादनको करिब ३३ प्रतिशत मात्र अदुवा जिल्लाबाहिर निकासी भएको कार्यालयले जनाएको छ।

बिहीबार २७ माघ २०७८ ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया