×

स्वास्थ्यचौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण 

images

लालझाडी गाउँपालिकाको देखभुली स्वास्थ्यचौकीलाई आज उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ ।

केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताउनुभयो । दुई सय ६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य रु चार लाख ९७ हजार रहेको छ ।

स्वास्थ्यचौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्लुएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखभुली स्वास्थ्यचौकीमा मात्रै रहेको छ । 

८६ हजार भेडाबाख्रालाई पिपिआर  

कञ्चनपुरमा ८६ हजार घरपालुवा जनावर भेडा र बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउनका लागि जिल्लाका नौवटै स्थानीय तहका बासिन्दाका घरपालुवा जनावर बाख्रा र भेडालाई पिपिआर महामारी रोगविरुद्धमा खोप लगाइएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शङ्करदत्त जोशीका अनुसार चालु आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्ध सो खोप लगाइएको हो ।

सूचना अधिकारी जोशीले भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने बताउनुभयो । “चालु आवमा ९० हजार भेडाबाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “दोस्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौँ । अभियान निरन्तर जारी रहन्छ ।” एकपटक खोप लगाइसकेपछि तीन वर्षका लागि ढुक्क हुने उहाँको भनाइ छ ।

बिहीबार २७ माघ २०७८ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया