×

निःशुल्क भिसामै ठगिए युवा

images

विराटनगर । सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ ।

देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा पठाएका थिए । यादवकै तीन जना भतिजासमेत मलेसिया पुगेका छन् । अहिले उनीहरू नेपाल फर्काइदिन माग गर्दै आएका छन् ।

सर्तअनुसारको काम नपाएको र सेवासुविधासमेत नदिएको गुनासो गर्दै मलेसिया पुगेपछि श्रम विभागमा बुझ्दा ठगिएको जानकारी पाएको उनले जानकारी दिए । देवानगञ्जमा रहेका अभिभावकले अहिले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिने तयारी गरिरहेको उनले बताए ।

मेहताले एनआईसी एसिया बैङ्कमा रहेको आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गराएको देखिएको छ तर स्थानीयवासीले भने एनआईसी एसिया बैङ्कको नक्कली भौचर, नक्कली छाप प्रयोग गरेको आशङ्का गर्दै छानबिन हुनुपर्ने मागसमेत गरेका छन् । आफ्ना तीन जना भतिजा सन्तोष, सुबोध र दयानन्द यादवलाई सुरुमा फ्री भिसा, फ्री टिकटमा पठाउने भन्दै त्यसको न्यूनतम लागत माग गरेको काका गणेश यादवले बताए। कागजात लिएर गएका मेहताले भिसा लागेपछि भने तीन लाख ५० हजार रुपियाँ लाग्ने भन्दै रकम मागेको आरोप छ ।

द्वितीया इन्टरनेसनल कम्पनीमार्फत श्रम विभागले उपलब्ध गराएको फ्री भिसा, फ्री टिकटमा विदेश गएका युवाको सम्पर्क व्यक्ति विजय मेहताले भने आफूलाई पनि फसाएको गुनासो गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

मङ्गलबार २६ पुस २०७९ ०८:०१ AM मा प्रकाशित

प्रतिक्रिया