×

राष्ट्रपतिका लागि दलहरूको दौडधूप तीव्र

images

काठमाडौं । आगामी पाँच वर्षका लागि कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा दलहरुबीचको दौडधूप तीव्र बन्दै गएको छ । सत्ता साझेदारीमा रहेको नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपतिका विषयमा आ–आफ्नो ढंगबाट दौडधूप अघि बढाएका हुन् ।

सात दलीय गठबन्धनभित्र राष्ट्रपतिका विषयमा विवाद उत्पन्न भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि राष्ट्रपतिको निर्वाचनले बढी ध्यान खिचेको छ ।

उता, सत्ता गठबन्धनको प्रमुख घटक मानिएको नेकपा एमालेले सत्तारूढ दलहरुबीच भएको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटघाटलाई निकै बाक्लो बनाइरहेका छन् ।

बुधबार भएको प्रचण्ड–ओलीबीचको भेटमा पनि अध्यक्ष ओलीले पूर्वसहमतिअनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने अडान कायमै राखेका छन् । तर, यस विषयमा नेकपा माओवादीको मत फरक छ ।

अघिल्लोपटक संसद् विघटन गर्दा तत्कालीन प्रधानमन्त्री ओलीले जे–जे भन्यो राष्ट्रपति विद्यादेवी भण्डारीले हुबहु मानेर निर्णय गर्दै गएको घटनाले नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरु सशंकित छन् । यही कारणले पनि एमालेलाई राष्ट्रपति दिनु नहुने गठबन्धनभित्रै बलियो मत छ ।

तर, एमालेले भने राष्ट्रपतिमा सहयोग लिने वातावरण बनाउनका लागि प्रधानमन्त्री प्रचण्डलाई सरकार गठन भएयता दर्जनपटक भेटिसकेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

बिहीबार २६ माघ २०७९ ०८:३१ AM मा प्रकाशित

प्रतिक्रिया