×

उद्घाटन गरिएको साढे १० महिना बित्न नपाउँदै काष्ठमण्डपको दलिन हल्लियो, डराए स्थानीय

images

काठमाडौं। काठमाडौंको नाम राख्ने काष्ठमण्डप पुनर्निर्माणपछि डरको स्रोत बनेको छ । पुनर्निर्माण सम्पन्नपछि उद्घाटन गरिएको साढे १० महिना बित्न नपाउँदै यसका दलिन हल्लिन थालेका छन् । काठैकाठले अडिएको काष्ठमण्डप झ्याप्प बस्ने हो कि भन्ने त्रास स्थानीयमा बढेको छ ।

यही माघ १ गते केही मन्दिरमा झण्डा राखेको दिन स्थानीय नागरिक काष्ठमण्डपको दोस्रो तलामा पुगेका थिए । उक्त तलाको तीनवटा दलिन हल्लिएपछि स्थानीयले काष्ठमण्डप जुनसुकै बेला ढल्न सक्ने खतरा भएको भन्दै आपत्ति जनाएका छन् ।

स्थानीय राजन महर्जन काष्ठमण्डपको दलिन मात्र होइन भुइँमा बिच्छ्याइएको फल्याकसमेत हल्लिन थालेको बताउनुहुन्छ । सामाजिक सञ्जालमा काष्ठमडपको भिडियो पोस्ट गर्दै उहाँले भन्नुभएको छ– करोडौं रूपैयाँ खर्च गरेर बनाइएको काष्ठमण्डपको दलिन हल्लिनु, भित्ता चर्किन थाल्नुले जुनसुकै बेला यो ढल्नसक्ने अवस्था देखाउँछ ।’ बुधबार काष्ठमण्डपको बाहिरी भाग अवलोकन गर्न जाँदा चुना र सुर्कीले बनेको भित्ताको काठले भित्ता नसमातेको देखियो ।

यस विषयमा काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं पूर्व प्रदेश सांसद राजेश शाक्यले भन्नुभयो– ‘हल्ला सुनेको छु, यस विषयमा विज्ञसंँग छलफल गर्नेछौं ।’ सामाजिक सञ्जालको भिडियो हेरिनसकेका उहाँले यस विषयमा आफूहरु गम्भीर रहेको र तत्काल विज्ञको बैठक बसेर समस्या समाधान गरिने जानकारी दिनुभयो । ‘काँचो काठको दलिन भएका कारण सुकेर हल्लिएको र केही काठले स्थान छाडेको हुनसक्छ ।’ –शाक्यको तर्क छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

 

बिहीबार २६ माघ २०७९ ०८:२७ AM मा प्रकाशित

प्रतिक्रिया